हेटौँडा : पारिजातको स्मृति दिवसको अवसरमा खुला वक्तृत्वकला प्रतियोगिता हुँदैछ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा वैशाख ५ गते प्रतियोगिताको आयोजना गरिएको आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो ।
‘सामाजिक रूपान्तरणमा राजनैतिक आन्दोलन’ विषयमा खुला वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो । दिवसको अवसरमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष विभिन्न कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष भावना सापकोटाले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने प्रतियोगी छनोट कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ । कार्यक्रममा सहभागी हुन वैशाख २ गते साँझ ५ बजेसम्म आफ्नो नाम र आवश्यक विवरण टिपाइसक्नु पर्नेछ । प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार र एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सापकोटाले बताउनुभयो ।