देशमा कोभिड–१९ को सङक्रमण आतङ्क बनेको छ । चीनबाट उत्पति भएको भाइरस नेपाल नआई पश्चिमी देशहरुमा पुग्दा नेपालमा कोभिड प्रवेश गर्दैन कि भन्ने भ्रम थियो । त्यसकै आधारमा सरकारले गर्नु पर्ने तयारीलाई बेवास्ता गरेको पाईन्छ । जसले गर्दा आज नेपालमा परिस्थिति जटिल बन्दै गएको छ । कसैलाई दोष दिने भन्दा पनि अब देशका सवै शक्ति एक भएर सामना गर्नुको विकल्प छैन । कोभिडबाट मुक्ती पाएपछि कस्ले कहाँ कमजोरी गरेको हो सोको समिक्षा हुने नै छ । तर अब पनि उचित व्यवस्थापनमा ध्यान नदिने हो भने परिस्थिति नियन्त्रण बाहिर जाने आँकलन विज्ञहरुले गर्न लागेका छन् । यसका लागि सम्पूर्ण शक्तिलाई साथमा लिएर काम गर्नुपर्ने दायित्व राज्यको बनेको छ ।
हाल देशभर भएको २६ हजार बढी सङ्क्रमित मध्ये बागमती प्रदेशमा करिव तीन हजार पुगिसेकेको अवस्था छ । एक सय पाँच जनाको मृत्यु हुँदा बागमतीका १८ जना परेका छन् । लकडाउन खुकुलो भएपछि बागमती प्रदेशमा कोरोनाको सङ्क्रमण बढ्ने क्रम तीव्र बनेको छ । विदेशबाट फर्कनेदेखि स्थानीयहरु समेत सङ्क्रमित भएका छन् । सरकारले स्वीकार नगरे पनि समुदायस्तरमै कोरोनाको प्रभाव देखिन थालेको छ । देशभरकै सुविधा सम्पन्न अस्पतालहरु भएको बागमती प्रदेशमा नै अवस्था जटिल बन्दै जानुले देशको परिस्थितिको आँकलन गर्न सकिन्छ । अन्य प्रदेशमा भएको अभावलाई भरथेग गर्नुपर्ने बागमती प्रदेश आफै कजोर देखिन थालेको छ । देशकै राजधानी रहेको प्रदेशले आफूलाई सक्षम बनाउन सक्नु पर्दछ ।
कोरोना विरुद्धको लडाईमा सबै पक्षको साथ र सहयोग आवश्यक छ । अहिले भइरहेको अवस्थाको मूल्याङ्कन गरी भएका कमजोरीप्रति आत्मालोचित हुँदै सच्याउनुको विकल्प छैन । त्यसो भएमा थप योजनामा सबैको साथ मिल्न सक्छ । सङ्क्रमित मध्येमा धेरैजसो उपचाररत छन् । ठूलो सङ्ख्यामा स्वास्थ्य र सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यसले सेवा प्रवाहमा समेत प्रभाव पार्ने अवस्था छ । मुलकुभरको नेतृत्व गर्नुपर्ने बागमती प्रदेशको व्यवस्थापन अझै चुस्त बनाउन आवश्यक छ । अस्पतालहरुमा उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन खाँचो छ । आइसोलेसनमा रेखदेखको विषय प्रश्न बनेको छ । काम गर्दा हुने मानवीय कमजोरीलाई कामबाटै सुधार गर्नुपर्ने हुन्छ । सङ्क्रमित, आफन्त र व्यवस्थापन बीचको सहकार्यबाट मात्र युद्धमा विजय प्राप्त हुने छ ।
सङ्क्रमणबाट बच्न नागरिक स्वयम् जिम्मेवार बन्नु पर्दछ । सङ्क्रमित भए सरकारले उपचार गर्नु पर्दछ तर सकेसम्म सङ्क्रमणबाट बच्न नागरिकको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुन्छ । सरकारले लगाएका नियम उल्लङ्घन गरेर बहादुरी देखाउने भन्दा आफ्नै लागि हो भन्ने महशुस गर्नुको विकल्प छैन । दैनिक व्यवहारमा सामाजिक दूरी कायम गर्नेदेखि सरसफाई र मास्कको विषय सरकारका लागि हुँदै होईन । तर नागरिकले यी सवै विषय सरकारका लागि मात्र हुन् भन्ने धारणाले आज कोभिडको अवस्था भयावह बन्दै गएको हो । आफ्नो स्वास्थ्यको पहिलो जिम्मेवारी नागरिक स्वयम्को हो अनि मात्र राज्यको दायित्वमा पर्ने छ । कमजोरीको विवेचना गर्दै सबै पक्ष जिम्मेवार बने मात्र कोभिड परास्त हुन सक्छ ।