हेटौंडाः हेटौंडामा ५ औं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य भारती पाठकले गर्नुभएको हो । हेटौंडा–४ स्थित हुप्रचौरको भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । हेटौंडा–५ स्थित ज्ञानोदय आवासीय माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले हराउँदै भानु माविले विजयी सुरुवात गरेको हो । भानु माविले ज्ञानोदय आवासीय माविलाई २५–५ र २५–१६ को सेटले पराजित गरेको हो ।

प्रतियोगिताको दोस्रो खेलमा बागमती गाउँपालिका, फापरबारीस्थित जनता माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा–९ स्थित कृष्ण आदर्श बोर्डिङलाई २–० को सोझो सेटले हराउँदै जनता माविले विजयी सुरुवात गरेको हो । जनता माविले कृष्ण आदर्शलाई २५–१६ र २५–२३ को सेटले हराएको छ । यस्तै, तेस्रो खेलमा हेटौंडा–१४, मयूरधापस्थित जनज्योति माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा–१० स्थित तुलसीमेहर बोर्डिङलाई २–० को सोझो सेटले हराउँदै जनज्योति मावि विजयी भएको हो । जनज्योतिले तुलसीमेहरलाई २५–२२ र २५–१५ ले हराएको हो ।

चौथो खेलम बकैया गाउँपालिकाको छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा क्याम्पसलाई २–० को सोझो सेटले हराउँदै महेन्द्र मावि विजयी भएको हो । हेटौंडा क्याम्पसलाई महेन्द्र माविले २५–१५ र २५–१९ ले पराजित गरेको हो । पाँचौं खेलमा साविक विजेता मकवानपुरगढी गाउँपालिकाको शारदा माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदनलाई २–० को सोझो सेटले हराउँदै शारदा मावि विजयी भएको हो । नवोदय शिशु सदनलाई शारद माविले २५–१६ र २५–८ को सेटले हराएको छ ।
छैटौं खेलमा हेटौंडा–५ स्थित जीएस निकेतन विजयी भएको छ । बकैया गाउँपालिकाको जनजागृति माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले हराउँदै जीएस निकेतन विजयी भएको हो । जीएस निकेतनले जनजागृतिलाई २५–१६ र २५–११ को सेटले हराएको हो ।
सातौं खेलमा बागमती गाउँपालिकाको बेतिनीस्थित बाघभैरव माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले हराउँदै बाघभैरव विजयी भएको हो । बाघभैरवले श्रमिकलाई २५–१० र २५–१८ को सेटले हराएको हो ।
शुक्रबार भएको प्रथम चरणको अन्तिम खेलमा बकैया गाउँपालिकाको जनक माध्यमिक विद्यालय विजयी भएको छ । थाहा नगरपालिकाको बज्रबाराही माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले हराउँदै जनक मावि विजयी भएको हो । जनक माविले बज्रहाराही माविलाई २५–१९ र २५–२२ ले हराएको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार महेन्द्र माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयबीच सुरु भएको दोस्रो चरणको पहिलो खेल समय अभावका कारण स्थगित भएको छ । उक्त खेल शनिबार बिहान सञ्चालन हुने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले बताउनुभयो ।

प्रतियोगिताका बाँकी खेलहरु शनिबार बिहानबाटै सञ्चालन हुनेछन् । शनिबार बिहान पहिलो खेलमा राक्सिराङ गाउँपालिकाको सूर्योदय मावि र हेटौंडा–८ स्थित चन्द्रोदय माविबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा आधुनिक राष्ट्रिय मावि र मकवानपुरगढी गाउँपालिकाको भानु माविबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी २६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने संयोजक पोखरेलले बताउनुभयो । गत वर्ष सपन्न भएको चौथो संस्करणको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङस्थित शारदा माध्यमिक विद्यालयले जितेको संयोजक पोखरेलले बताउनुभयो । फाइनल खेलमा शारदा माविले मकवानपुरगढी गाउँपालिकाको मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयलाई २–१ को सेटले हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमलाई ५÷५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइक र उत्कृष्ट सेटरलाई २÷२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

४ नम्बर वडाको शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा ४ नम्बरका वडाध्यक्ष नवीन सिग्देल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, ज्ञानोदय आवासीय माविका प्रधानाध्यापक श्यामकुमार बानियाँ, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपानेलगायतको आतिथ्य रहेको थियो । आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।