हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेकोले सहकारी संस्था तथा वित्तीय संस्थाहरु सञ्चालन नगर्न मकवानपुर जिल्ला सहकारी संघले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ ९ गतेसम्म हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै संघले निषेधाज्ञा लागू भएका क्षेत्रमा रहेका सम्पूर्ण सहकारी लगायत वित्तीय संस्थाहरु सञ्चालन नगर्न अनुरोध गरेको हो ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले आइतबार एक विज्ञप्ति जारि गरी अत्यावश्यक अवस्थामा सेवा प्रवाह गर्नुपरे सुरक्षाको सम्पूर्ण उपाय अबलम्बन गर्न अनुरोध गर्नु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढीरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय संस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन संघले सचेत गराएको छ ।

यसैबीच थाहा नगारपालिकामा रहेका वित्तीय संस्थाहरु सुरक्षाका विधि अपनाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन गरिने भएको छ । आइतबार थाहा नगरपालिकामा भएको बैठकले सर्वसाधारणमा कोरोना भाइरसको खतरा बढेका कारण वित्तीय संस्थाहरु बढी जोखिममा रहेकोले कार्य समय कम गरिएको थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले बताउनु भयो । वित्तीय सेवा लिन जाँदा सर्वसाधारणले सुरक्षाको विधि पूर्णरुपमा पालना गर्न समेत प्रमुख घिमिरेले आग्रह गर्नुभएको छ ।