हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव–२०८१ हेटौँडामा शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म चल्ने उत्सवमा देशका सातै प्रदेशबाट नवसर्जक सहभागी छन् । शुक्रबार पहिलो दिन साहित्यका विभिन्न विधामा कार्यशालाको सम्पन्न भएका छन् । शुक्रबार नवसर्जकहरुले हेटौँडा–११ स्थित सहिद स्मारकको भ्रमण गर्नुका साथै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलसँग संवाद गरेका छन् ।

उत्सवको पहिलो दिन शुक्रबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा सहित्यका विभिन्न ९ विधामा आयोजना गरिएको कार्यशालामा विद्यालय तहका २ सय ७० जना विद्यार्थी सहभागी थिए । गजल लेखनमा केशव समर्पण, मुक्तक लेखनमा विश्वनाथ सञ्जेल, लोकलय कविता लेखनमा पुरुषोत्तम आचार्य, गद्य कवितामा सुवास खनाल, कथामा निमेष निखिल, यात्रा संस्मरणमा रमेशमोहन अधिकारी, नाटक लेखनमा माधव पोखरेल, हास्ययव्यङ्ग्यमा राजकुमार लामिछाने र चित्रकला सूर्य सन्यासीले सहजीकरण गर्नुभएको थियो ।
नजसर्जक उत्सवको दोस्रो दिन शनिबार भुटनदेवी माध्यमिक विद्यालय परिसरमै नवसर्जक साहित्य चौतारीको प्रथम केन्द्रीय अधिवेशन समेत हुनेछ । कार्यक्रममा स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता, गजल तथा नृत्य, बहत्, मुक्तक, कविता वाचन, पुस्तक प्रदर्शनी हुनेछ । बिहीबार नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रसन्ना चौलागाईको अध्यक्षता तथा प्रा.डा. चुणामणि बन्धुको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भएको थियो । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो ।