हेटौंडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा शाखाले चालु वर्ष २०७७\७८ मा मकवानपुरमा ५१ पटक बजार अनुगमन गर्ने भएको छ । चालु वर्षमा ५१ पटक बजार अनुगमन हुने लक्ष्य तय भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एवम् सूचना अधिकारी श्रृजना महर्जनले बताउनुभयो । यस्तै चालु वर्षमा २५० वटा खाद्य उद्योगको अनुगमन गरिने, होटल तथा रेष्टुरेण्टहरुको ४८ पटक अनुगमन, ६ पटक दानाको बजार अनुगमन र १० वटा दाना उद्योगको अनुगमन गरिने भएको छ । त्यस्तै ३० वटा दुध, तेल तथा पानी उद्योगहरुको अनुगमन हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्य स्वच्छताको अवस्था सुधार गर्न, खाद्य तथा दाना उद्योगहरुलाई अनुज्ञापत्रको दायरामा ल्याउन, होटल तथा रेष्टुरेण्टहरुको स्तरीकरण तथा स्वच्छता कायम गर्न वर्षेनी अनुगमन गर्दै आएको छ । बजारमा वस्तुहरुको अनुमगन सगै त्यसको गुणस्तर हेर्न प्रयोगशालामा नमूना संकलन गरेर परीक्षण गर्दै आएको खाद्य अनुसन्धान अधिकृत महर्जनले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारण अन्य तालिम तथा विभिन्न मेला महोत्वस कार्यक्रम कटौती गरेर बजार अनुगमनलाई केन्द्रित भएर कार्यक्रम तािलका आएको महर्जनले बताउनुभयो । चालु वर्षमा भने खाद्यले बजार अनुगमनलाई अझ प्रभावकारी र फरक ढंगबाट गर्ने जनाएको छ । बजारमा अखाद्य वस्तुहरु पनि भेटिएको र उनीहरुलाई कारबाही पनि गरिदै आएको उहाको भनाइ छ ।
गत वर्षमा मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अनुगमनका क्रममा दूषित पानी बिक्री गरेको, बेकरीको लेबल नभएको, तथा न्यून गुणस्तरको दहि उत्पादन भएको भन्दै १० वटा उद्योग विरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्दा दर्ता गरेको छ । उनीहरुले खाद्य स्वच्छता पालना नगरेको भन्दै मुद्दा दर्ता गरेको हो भने अन्य ७ वटा उद्योग विरुद्ध मुद्दा दर्ता हुने प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७६\७७ मा मात्रै खाद्यले २३० पटक मकवानपुरमा भएका खाद्य उद्योगहरुको अनुगमन गरेको छ । ३ सय पटक अनुगमन गरिने लक्ष्य रहे पनि लकडाउनका कारण ४ महिना काम हुन नसकेपछि लक्ष्यअनुसार बजार अनुगमन गर्न नसकिएको कार्यालयले जानकारी दिएको छ । यसैगरी २५ पटक दाना उद्योगहरुको अनुगमन गरेको छ भने होटल तथा रेष्टुरेण्टको लक्ष्य भन्दा ३ गुणा बढी १८ पटक अनुगमन गरिएको सूचना अधिकारी महर्जनले बताउनुभयो । होटलमा अनुगमन आवश्यक र धेरै गुनासो आएकाले अनुगमन लक्ष्य भन्दा बढी गर्नुपरेको उहाको भनाइ छ ।
गत १ वर्षमा १ सय ३ पटक दुध, तेल तथा पानी उद्योगमा अनुगमन भएको छ । हेटौंडा पमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार, नागरिक समाज, सुरक्षा निकायको सहभागितामा संयुक्त बजार अनुगमन ७ पटक गरिएको छ । त्यस्तै चिस्यान केन्द्रको पनि ९२ पटक निरीक्षण तथा नमूना संकलन भएको जनाइएको छ ।गत आव मा १८ पटक होटलहरुको खाद्य सुरक्षा र स्वच्छताको अनुगमन गर्दा मकवानपुर जिल्लाका ८ वटा होटलहरु मात्र सन्तोषजनक पाइएको, १७ होटलहरु सामान्य रहेको पाइएको थियो भने १४ होटलहरुलाई सुधार गर्ने निर्देशन तथा सुझाव दिएको थियो । चालु वर्षमा पनि होटलहरुको अनुगमन हुने र स्तरीकरण गरिने खाद्य अनुसन्धान अधिकृत महर्जनले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा गत वर्ष मकवानपुरका कुनै पनि होटलहरुले लोगो स्तरीकरणमा अत्ति उत्तम र उत्तमको ग्रेड पाएका छैनन् । यस्तै लकडाउनको समयमा (बैशाख र जेठ) को समयमा खाद्यले २६ वटा बजार अनुगमन तथा १५ वटा उद्योगमा अनुगमन गरी ४१ वटा अनुगमन गरेको छ । जसमध्येबाट ३२ वटा नमूना परिक्षण, एक पानी उद्योग र खाद्यान्न गोदाम सिल गरिएको थियो । त्यस्तै अन्य ३० स्थानमा भएको अनुगमन सुधारका लागि निर्देशन दिइएको बताइएको छ ।