हेटौंडाः खेतीको प्रमुख समय (सिजन) मा युरिया मल अभाव हुने समस्या यो वर्षको मात्रै होइन । हरेक वर्ष किसानका लागि युरिया मल नै चिन्ताको विषय हुन्छ । सरकारी अनुदानको मल नपाएर हरेक वर्ष किसान पीडित बनिरहनु परेको छ । यस वर्षको हालत पनि उस्तै छ । किसानले असारमा रोपेको धानमा मल हाल्ने बेला हुँदैछ । तर, किसानले मल पाउने अवस्था छैन ।

सरकारले (जिटुजी) सरकार–सरकार सोझै अनुदानमा किन्ने युरिया मल किसानले सस्तोमा पाउनु पर्ने हो । तेस्रो मुलुकबाट भारतको कलकत्ता हुँदै वीरगञ्जसम्म मल ल्याइन्छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहाबाट देशभर मल बाँडिन्छ । सरकारले अनुदानको मल सम्झौता गर्न ढिलाई गर्ने तथा सम्झौता भएको रकम समयमा नै निकासा नहुँदा मल अभाव हुने गरेको कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुरका प्रमुख लक्ष्मण यादवले बताउनुभयो । त्यस्तै विचौलियाहरुले भारतबाट नेपाल आउने मल उतै रोक्ने र कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गर्ने गरेका छन् । अहिले भारतको युरिया मल नेपालको तराई क्षेत्रमा बिक्रि हुँदै आएको छ । अहिले तराईका जितपुर बारामा भारतीय मल सर्वसुलभ रुपमा पाइए पनि नेपाल सरकारको अनुदानको मल भने पाइएको छैन । भारतीय युरिया मल बारा जिल्लाको जितपुरमा महंगोमा बिक्री भइरहेको सुनेको कृषि सामग्री कम्पनि लिमिडेटका प्रमुख यादवले बताउनुभयो ।

कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुरका प्रमुख लक्ष्मण यादवका अनुसार भारतमा भन्दा नेपालमा युरिया मल सस्तो पर्छ । भारतमा ४५ किलोको प्रतिबोरा युरिया मलको झण्डै नेपाली १ हजार रुपैयाँ पर्छ भने नेपालमा ५० किलोको प्रतिबोरा ८ सय रुपैयाँमा किसानलाई उपलब्ध छ । विगत ८ वर्षदेखि मकवानपुरका किसानहरुले खेतीपातीको मुख्य सिजनमा रासायनिक मलको अभाव झेल्दै आएका छन् । कहिले कृत्रिम अभाव त कहिले सरकारको कमजोरीका कारण मलको अभावको स्थिति सामना गर्न मकवानपुरका किसानहरु बाध्य छन् । वर्षेनी हुने मलको अभावको बारेमा सरकारले चासो कम दिएको छ ।राज्यका तीनै तहका सरकारले कृषिमा क्रान्ति गर्ने भनेर बजेट विनियोजन गरेपनि सम्भव हुन सकेको छैन । रासायिनक मलमा अन्य देशको भर पर्नुपर्ने तथा मुलुकमै रासायनिक मल उत्पादन हुने कारखाना नहुँदा यस्तो अभाव देखिएको छ । मकवानपुरमा ९५ प्रतिशत धान रोपाई सकिएको छ । आफ्नो ८ कट्ठा जमिनमा लगाइएको धानमा मल हाल्न नपाउदा हाडीखोलाका किसान मनबहादुर प्रजा चिन्तित बन्नुभएको छ । प्रत्येक दिन हेटौंडा बजारमा युरिया मल आयो कि भने सोध्न एकपटक बजार आउने गरेको उहाले बताउनुभयो ।

पालिकामा आउने मल भाग नपुग्ने भएपछि हेटौंडा बजारमा धाउनु परेको उहाले गुनसो गर्नुभयो । त्यस्तै हेटौंडा–१ का नारायण लामिछाने पनि मल हाल्न नपाउदा खेतमा रोपिएको धान पहेलो हुदै गएको बताउनुहुन्छ । धानले गाज हाल्ने समयमा युरिया मल हाल्दा धान राम्रो हुने उहाले बताउनुभयो ।मकवानपुर जिल्लामा नेपाल सरकारको प्रदान गर्ने अनुदानको मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनि लिमिटेडले सहकारीमार्फत वितरण गर्दै आएको छ । हालसम्म कृषि सामग्री कम्पनि लिमिटेडले सरकारी अनुदानको ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मलको आपूर्ति गर्ने जिम्मेवारी पाएको छ । साल्ट ट्रेडिङ मकवानपुरका अधिकृत शैलेश पाण्डेका अनुसार विगतका ८ वर्षदेखि नै मकवानपुरमा सिजनमा मलको अभाव हुदै आएको छ । किसानहरुले भनेजति मल अहिलेसम्मै नपाएको उहाको भनाइ छ । अनुदानको मल किसानहरुलाई पर्याप्त पूर्ति गर्न नसकिएको उहाले बताउनुभयो । उहाका अनुसार साल्ट ट्रेडिङले मकवानपुरमा गत आर्थिक वर्ष २०७६\७७ मा मात्रै अनुदानको रासायनिक युरिया मल १ हजार ४ सय ३४ मेट्रिकटन ९३ वटा सहकारीको डिलरमार्फत बिक्रि गरेको छ ।

त्यस्तै अनुदानकै डिएपि ९ सय ९८ मेट्रिक टन र पोटास ८० बोरामात्र जिल्लामा बिक्रि गरेको छ । गत जेठ महिनाको पहिलो हप्तामा मात्रै मकवानपुरमा ६० टन युरिया मल वितरण गरेको साल्ट ट्रेडिङका अधिकृत पाण्डे बताउनुभयो । अहिले २ महिनादेखि भने मल आपूर्ति गर्न नसकिएको उहाको भनाइ छ ।कवानपुरमा युरिया मल कहिले आउने भन्ने पनि टुंगो नलागेको उहाले बताउनुभयो । उहाका अनुसार मकवानपुरमा मलको माग वर्षेनी बढ्दै गएको छ । माटो गुणस्तरमा ह्रास आएको र पहिले एक किलो युरिया मल लाग्ने खेतीमा अहिले ५ किलो लाग्ने गरेको उहाले बताउनुभयो । पूर्ण प्राङ्गारिक मल, पोटास मल नहाल्ने र युरिया मल मात्रै हाल्दा माटोको उर्वरा घटेको उहाले बताउनुभयो । मकवानपुर जिल्लामा गत वर्षको तुलनामा यो वर्ष अझै युरिया मलको माग बढ्ने उहाको अनुमान छ ।

मकवानपुर जिल्लामा कृषि सामग्री कम्पनि लिमिटेडले पनि मल आपूर्ति गर्न अझै सकेको छैन । कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुरका प्रमुख यादवका अनुसार जनप्रतिनिधीहरुले चासो देखाएका कारण गत जेठमा मल वितरण गर्न सकिएको बताउनुभयो । अहिले मौज्दात युरिया मल नभएका कारण बजारमा अभाव भएको उहाले बताउनुभयो । संघीय सरकारको मातहतमा रहने उक्त कम्पनि लिमिटेडले मकवानपुरमा पर्याप्त मल आपूर्ति गर्न सकेको छैन । अहिले भारतमा मलका गाडिहरु रोकिएको अपुष्ट खबर आएको उहाले बताउनुभयो । गत आवमा मात्रै कृषि सामग्री कम्पनि लिमिटेडले ७४ सहकारीमार्फत २ हजार ५५ मेट्रिक टन युरिया मल, १ हजार २ सय ८५ मेट्रिक टन डिएपि मल, ७२ मेट्रिक टन पोटास गरी कुल ३ हजार ४ सय १२ मेट्रिक टन मल जिल्लामा वितरण गरेको छ । मलको अभाव जिल्लामा बढ्दै गएपछि यो वर्षका लागि कम्पनि लिमिटेडले भने ४ हजार मेट्रिक टन मल माग गरेको छ । स्वीकृतिका लागि माथिल्लो निकायमा पठाइएको प्रमुख यादवले बताउनुभयो । गएको जेठ महिनामा मात्रै कृषि सामग्री कम्पनि लिमिटेडले १\१ टन युरिया मल मकवानपुरको १० गाउपालिकामा वितरण गरेको थियो ।अहिले युरिया मलको अभाव देशैभर हुदा हेटौंडा बजारमा चितवन जिल्लाका किसानहरु पनि युरिया मल खोज्दै कृषि पसलहरुमा आइपुगेको कृषि सहकारी संस्थाका रुद्र प्रसाद चौलागाईले बताउनुभयो । उहाका अनुसार दिनमा ५० जना बढी किसानहरु युरिया मल आयो भनेर सोध्न आउछन् । धेरैजस्तो किसानहरु स्थानीय तहमा गएका मलहरु पनि नपाएको भन्दै पसलमा गुनासो पोख्ने गरेको उहाले बताउनुभयो । अहिले बजारमा डिएपी मल, पोटास मल भने पर्याप्त रहेको छ ।