सबै बालबालिकालाई विद्यालय तहको शिक्षामा आवद्ध गराउने उद्देश्यले हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा विद्यालय (विद्यार्थी) भर्ना अभियान सञ्चालन गर्ने गरिएको छ । विशेषगरी विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकाको शिक्षाको हक र विद्यालयमा पहुँच सुनिश्चित गर्न झण्डै दुई दशकदेखि भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । संविधानले नै आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेपछि विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान झन् महत्वपूर्ण हुने देखिन्छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षासंग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विद्यालय सबैको सहकार्यमा भर्ना अभियान सञ्चालन गर्ने गरिएको छ । हरेक वर्ष भर्ना अभियान सञ्चालन गरेर विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गराउने गरिएको भए पनि कतिपय बालबालिका अहिले पनि विद्यालय बाहिर नै रहेको पाइन्छ ।

नेपालमा हरेक वर्ष बैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ । शैक्षिक सत्रको सुरुवातसँगै हरेक वर्ष बैशाख २ गतेबाट करिब एक साता शिक्षा मन्त्रालयको आह्वानमा भर्ना अभियान सञ्चालन गरिन्छ । यस पटक भने मन्त्रालयले २०८२ बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रको भर्ना अभियानबारे कुनै सर्कुलर जारी गरेको छैन । चैत महिना समाप्त हुन करिब एक साता बाँकी रहेकाले शायद मन्त्रालय भर्ना अभियानको योजना बनाउँदै होला । मन्त्रालयले भर्ना अभियानबारे कुनै सूचना जारी नगरे पनि मकवानपुरका केही विद्यालयहरुले भने विद्यार्थी भर्ना अभियान सुरु गरेका छन् । चैत दोस्रो सातासम्म कक्षा ९ सम्मको वार्षिक परीक्षा सम्पन्न गरेका केही विद्यालयहरुले विद्यार्थी संख्या वृद्धि गर्न भर्ना अभियान सुरु गरेका हुन् । सरकारले कुनै बालबालिका विद्यालयको पहुँचबाहिर नरहुन् भन्ने उद्देश्यले भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिए पनि अधिकांश सामुदायिक तथा निजी विद्यालयले सम्भावित बालबालिकालाई आफ्नो विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गर्ने गरेको पाइन्छ ।

कुनै पनि बालबालिका विद्यालय बाहिर रहनु हुन्न । आधारभूत तहसम्म अनिवार्य शिक्षाको व्यवस्था संविधानमै भएकाले बालबालिका शिक्षाबाट वञ्चित हुनु भनेको राज्यको कमजोरी सावित हुन्छ । त्यसैले कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन् भन्नेतर्फ अभिभावक, विद्यालय, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सम्बद्ध निकाय जिम्मेवार हुनुपर्छ । वर्षेनि शैक्षिक सत्रको सुरुमा सञ्चालन गरिने भर्ना अभियानले विद्यार्थीलाई आफ्नो विद्यालयमा आकर्षित गर्न नभई विद्यालयको पहुँचबाहिर रहेका विद्यार्थीलाई विद्यालय भर्ना गराउन केन्द्रित हुनु आवश्यक छ ।

बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यार्थी भर्ना अभियानले पक्कै सहयोग गर्दछ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय ल्याउन र विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न भर्ना अभियान सार्थक बनिरहेको छ । विद्यार्थी भर्ना अभियानबाट विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन र विद्यार्थी संख्या कम भएका विद्यालयलाई विद्यार्थी बढाउन सहयोग पुगेकै छ । आर्थिक रुपले विपन्न अभिभावकका बालबालिकालाई भर्ना अभियान र घरदैलो गरेर विद्यालयसम्म ल्याइए पनि धेरैले बिचमै पठाइ छाड्ने गरेको पाइन्छ । विद्यालय भर्ना भएका विद्यार्थी टिकाउन नसक्ने हो भने भर्ना अभियान निरर्थक हुन्छ । यसैले, भर्ना अभियान सञ्चालन गरेर बालबालिकालाई विद्यालय भर्ना हुन मिहिनेत गरेजस्तै विद्यालयहरुले भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइ राख्न उत्तिकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।