नेपालमा वन डढेलो र यसबाट निम्तने समस्या विकराल बन्दै गएको छ । करिब ४५ प्रतिशत वन क्षेत्रले ढालेको नेपालको सबै क्षेत्रका वन जंगलमा डढेलोले व्यापक असर पारिरहेको छ । विशेषगरी फागुन–चैतमा रुख विरुवाका पात झर्ने गर्दछ । चैत लागेसँगै घाम चर्किंदै जान्छ र झरेका पातहरु सुक्छ । यही समयमा हावा हुरी चल्ने गर्दछ । पानी नपरेर जताततै सुख्खा भइरहेको हुन्छ । यस्तो अवस्थामा आगोको सानो झिल्को मात्र वन जंगलको सुकेको पात पतिङ्गरमा पुग्यो भने त्यसले डढेलो लाग्छ । डढेलोका कारण आगलागीको जोखिम पनि उत्तिकै हुने गर्दछ । घर, गोठ तथा बारीको आगोले वनमा डढेलो लाग्ने वा वनमा लागेको डढेलोले घर, गोठमा आगलागी हुने दुबै सम्भावना हुने गर्दछ ।

वन जंगलमा डढेलो लाग्ने वा लगाउने समस्याले धेरै असर पार्ने गरेको छ । हावाहुरी, चट्याङलगायत केही प्राकृतिक कारणले आगो सल्किएर डढेलो लाग्ने सम्भावना भए पनि नेपालको अधिकांश क्षेत्रमा मानवीय असावधानी, लापरबाही र नियतवस डढेलोको लगाउने गरिएको छ । मानिसले विभिन्न ठाउँमा बालेको आगो राम्रोसँग ननिभाउनाले डढेलो लाग्ने गर्दछ । वन जंगल वरपर आगो बालेर सावधानी नअपनाउँदा पनि डढेलो लाग्ने सम्भावना रहन्छ । नयाँ घाँस उमार्ने, वनका रुख सुकाएर काठ दाउरा बनाउने, वन्यजन्तु मार्ने आदि नियतले जानाजान वन जंगलमा डढेलो लगाउनेको पनि कमी छैन । डढेकोको असरबारे समुदायस्तरमा सचेतनासँगै डढेलो लगाउनेलाई कडा दण्ड सजायको व्यवस्था भएमा डढेलो लगाउने सम्भावना कम हुनसक्छ ।

प्रशस्त वन क्षेत्र भएको मकवानपुरमा पनि डढेलोको समस्या बढी नै हुने गर्दछ । चैत महिनाभर जिल्लाका सबैजसो राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेको देखिन्छ । पछिल्लो समय हेटौंडा वरपर तथा अन्यत्रका वन जंगलमा डढेलो लागिरहेको वा लागिसकेको देख्न सकिन्छ । देशैभर डढेलो तथा आगलागीका घटना व्यापक बनिरहेका कारण काठमाडौं उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषण बढेको छ । वायु गुणस्तर सूचकाङ्क निकै अस्वस्थकर विन्दुमा पुग्दा आँखा तथा नाक पोल्ने, श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको संक्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, छालासम्बन्धी समस्या, टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या बढेको छ ।

वन जंगलमा डढेलो लागेपछि नियन्त्रण गर्न निकै कठिन हुने गरेको छ । कठिन भौगोलिक अवस्था, अपर्याप्त वारुणयन्त्र तथा अन्य अग्नि नियन्त्रण उपकरणका कारण वन डढेलो समयमै नियन्त्रण गर्न सकिँदैन । वन डढेलोका कारण घरगोठमा सल्किएको आगो समेत नियन्त्रण गर्न नसकेर जनधनको क्षति भएको थुप्रै घटना छन् । आगलागी समयमै नियन्त्रणका लागि अग्नि नियन्त्रणको प्रभावकारी उपाय अपनाउनु आवश्यक छ । अहिलेकै संयन्त्र र प्रविधिले वन डढेलो नियन्त्रण गर्न सम्भव नभएका कारण यसबाट हुने क्षति रोक्न पनि चुनौतीपूर्ण देखिन्छ । वन डढेलोबाट बच्ने हो भने डढेलो लाग्नै दिनु हुँदैन । वन जंगल संरक्षण र व्यवस्थापनमा क्रियाशील सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाहरुले डढेलो नियन्त्रणका लागि सचेतनालगायत अन्य प्रयास गर्दै आएको भए पनि त्यो पूर्ण प्रभावकारी हुन सकेको छैन । वन डढेलो तथा आगलागीबाट हुने जनधनको क्षति, जैविक विविधतामा ल्याउने ह्रास तथा वायु प्रदूषण कम गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।