हेटौँडा ः हेटौंडा–५, पिप्लेस्थित जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलको १६ औं अभिभावक दिवस शनिबार मनाइएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिता पाण्डेको अध्यक्षता तथा वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।
भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घिमिरेले वडाको शैक्षिक विकाससँग जोडिने भएकाले जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलको समग्र शैक्षिक उन्नयनमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही अवसरमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समेत गरिएको छ । विद्यार्थीले मेरो प्यारो हेटौंडा शिर्षकमा कविता वाचनसँगै बनेको छ पहाडले, नेपाल मेरो मातृभूमि शिर्षकमा गायन प्रस्तुत गरिएको छ । यस्तै झुमा नाँच, हामी पढ्छौं हामी लेख्छौं, सिरैमा सिरबन्दी, मारुनी नाच शिर्षकको गीतमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । नर्सरीदेखि कक्षा–१० सम्मका कक्षागत प्रथम, द्वितीय, तृतीय विद्यार्थीलाई स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको छ । जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलका प्राचार्य श्रीबहादुर कार्कीले यातायातलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यस वर्ष मात्र ४ वटा नयाँ गाडी थपेकाले अभिभावकको माग सम्बोधन गर्न सकेको जानकारी दिनुभयो ।
असल संस्कारसहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई प्रदान गरिरहेको बताउनुहुँदै सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानलाई पनि विद्यालयले जोड दिएको उहाँको भनाई छ । विद्यालयको कमिकमजोरीलाई निराकरण गर्दै सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा हेटौँडा सिटी कलेज तथा जेनिथ बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष अनिल पाण्डे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी, हेटौंडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।