हेटौँडा : शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटना नियोजित भएको भन्दै स्वतन्त्र पत्रकार संघले भत्र्सना गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संघले यस किसिमको अराजकता नियन्त्रण गर्न सरकारसँग माग समेत गरेको छ ।

शुक्रबारको घटनामा पत्रकार सुरेश रजकको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै दोषीलाई कारवाही गर्न सरकारसँग माग गरिएको छ । संघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जारी गर्नुभएको विज्ञप्तिमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी विभिन्न संघ, संस्था, समूहको संलग्नतामा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन अराजक बन्दै तोडफोड, ढुंगामुढासहित लुटपाट र आगजनीका घटना निन्दनीय भएको उल्लेख गरिएको छ ।

मुलुकमा नागरिक अधिकार सुनिश्चित रहेको र आफ्ना जायज माग सम्बोधन गर्न शान्तिपूर्ण प्रदर्शन गर्न सकिने अवस्था कायमै रहँदा नियोजित ढंगले तोडफोड, लुटपाट भई समाचार संकलनका लागि खटिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनको घटनाले स्तब्ध भएको संघले जनाएको छ ।

आम नागरिकको जनजीवन प्रभावित पार्ने, हिंसात्मक आक्रमण, तोडफोड, आगजनी, लुटपाट जस्ता घटनाका साथै सञ्चार माध्यममाथि नै आक्रमण र निजी सम्पत्तिको क्षति पुर्‍याउने जस्तो गम्भीर गल्ती लोकतन्त्रको नाममा क्षम्य नहुने जीकिर गर्दै संघले शुक्रबारको घटनाको न्यायोचित समाधान गरी आगामी दिनमा यस किसिमको घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका जुनसुकै प्रकृतिका घटना, बाधा, अवरोधको घोर भत्र्सना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सबै पक्षलाई जिम्मेवार र जवाफदेही हुन संघले आग्रह समेत गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रले जस्तै मकवानपुर जिल्ला शाखाले पनि घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे ‘अनुराग’ र सचिव बसन्त भण्डारीको संयुक्त हस्ताक्षरसहित विज्ञप्ति जारी गरिएको छ ।