लागूऔषध ओनरेक्ससहित पक्राउ परेका बनियाँ र दास ।

हेटौँडा : लागूऔषध ओनरेक्ससहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ ७ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट प्रहरीले १२ बोतल लागूऔषध ओनरेक्ससहित भारतको बिहार राज्यको सीतामडी घर भई हाल हेटौँडा–२, संगमचोक बस्दै आएका ४२ वर्षीय रामजी बनियाँ र हेटौँडा–४ का ६४ वर्षीय सन्तोष दासलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ग १ ज ८२०२ नम्बरको यात्रुवाहक भ्यानमा सवार बनियाँ र दासलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिन म्याद अनुमति लिई उनीहरुलाई हिरासतमै राखी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।