मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधिन शैक्षिक भवन ।


हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन र अस्पताल भवन अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका लागि संघीय सरकारको विशेष अनुदानमार्फत ५० करोड लागतमा हेटौंडा–१०, टीसीएनचौरमा ६ तले भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको हो ।

प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईका अनुसार आगामी असार मसान्तसम्म दुवै भवनको संरचना निर्माणको काम सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ । शैक्षिक भवन (बेसिक साइन्स) निर्माणका लागि प्रदेश राजधानी पूर्वाधार विकास आयोजना कार्यालय हेटौंडाले टेन्डर खुलाएर गत २०७८ फागुन २३ गते ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो । कार्यालयको मातहत रहेको उक्त भवनको निर्माण सम्पन्न गर्न आगामी असारसम्मको समय बाँकी रहेको छ । उक्त भवन गत २०८१ भदौ २२ गतेसम्ममा निर्माण सम्पन्न गरी सक्नुपर्ने भएपनि विभिन्न समस्याका कारण आगामी असारसम्मको म्याद थप गरिएको थियो ।

कार्यालयले उक्त भवन निर्माणका लागि कुमार आरएन सिएस जेभी गोकर्ण–११ काठमाडौँलाई भ्याटसहित ४९ करोड ९५ लाख ३ हजार रुपैयाँमा ठेक्का दिएको थियो । कार्यालयले उक्त भवन निर्माणका लागि ८१ करोड ५१ लख २४ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले लागत अनुमान भन्दा ३८.८२ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । हाल शैक्षिक भवनको काम ५० प्रतिशत प्रगति रहेको छ भने वित्तीय प्रगति ४५ प्रतिशत रहेको उहाँले बताउनुभयो । सो भवनका लागि संघीय सरकारले प्रतिष्ठानलाई ९७ करोड विशेष अनुदान दिएको उहाँको भनाई छ ।
त्यस्तै, प्रतिष्ठानकै पहलमा हेटौँडा अस्पताल परिसरमा संघीय सरकारको विशेष अनुदानमार्फत २३ करोड रुपैयाँ लागतमा ६ तले अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालय हेटौंडाले उक्त अस्पताल भवन निर्माणको टेन्डर आह्वान गरेको थियो ।

कार्यालयले गत २०७८ असार १८ गते २३ करोड ६४ लाख २५ हजार रुपैयाँमा अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । गत २०८० पुस १६ मा निर्माण सम्पन्न गर्ने गरी विकोई नव सृजनशील जेभीले ठेक्का लिएको उक्त भवन निर्माणको काम गरेपनि समयमा काम सम्पन्न नभएपछि आगामी बैशाखसम्म म्याद थप गरिएको थियो । हाल अस्पतालसँगै रहेको २०० बेड भवनको ७० प्रतिशत भौतिक प्रगति रहेको छ भने ५५ प्रतिशत वित्तीय प्रगति रहेको छ । सो भवनमा प्रतिष्ठानले २ सय बेडको अस्पताल संचालन गर्ने योजना तयार पारेको थियो । सो भवनका लागि संघीय सरकारले ३२ करोड रुपैयाँ विशेष अनुदानमार्फत दिएको थियो ।

रजिष्ट्रार गुरागाईका अनुसार हाल प्रतिष्ठानको भौतिक संरचनाको विकासका लागि प्रदेश सरकार र संघीय सरकारसँग ३ वटा परियोजनाको तयारी भइरहेको छ । हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको २ विगाह क्षेत्रफलको जग्गामा प्रतिष्ठानको कार्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापनको काम भइरहेको छ भने शैक्षिक भवन रहेको क्षेत्रको ८ विगाह क्षेत्रमा नयाँ शैक्षिक भवन निर्माणको योजना तयार गरिएको उहाँले जानकारी दिनुभयो । अनुसनधानका लागि भवन निर्माण गर्नेगरी योजना तयार गरी बजेट व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाई छ ।

प्रतिष्ठानको दिर्घकालिन व्यवस्थापन गर्ने गरी ४ वर्ष र २५ वर्षको गुरुयोजना निर्माणको चरणमा रहेको उहाँले बताउनुभयो । उक्त योजना तयार गरी संघ प्रदेश र स्थानीय तहसँगै दातृ संस्थाहरुसँगको सहकार्यमा स्रोत व्यवस्थापन गर्नेगरी प्रतिष्ठान अघि बढेको उहाँले जानकारी दिनुभयो । हाल शैक्षिक कार्यक्रमतर्फ प्रतिष्ठानले ४ वटा संकायमा अध्यापन गर्दै आएको छ । प्रतिष्ठानले स्नातक तहको विएस्सी नर्सिङ, वि फार्मेसी, विपिएच (पब्लिक हेल्थ) र विएस्सी ल्याव मेडिसिन संकायमा अध्यापन गर्दै आएको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको सिट संख्यामा प्रतिष्ठानले गत २०७८ देखि शैक्षिक कार्यक्रम अध्यापन कार्य सुरु गरेको रजिष्ट्रार गुरागाईले बताउनुभयो । हाल स्नातक तहमा ३५९ जना अध्ययनरत छन् । उहाँका अनुसार विएस्सी नर्सिङतर्फ विभिन्न सेमेस्टरमा गरी ६० जना, विएस्सी ल्याब मेडिसिनमा ९१ जना, वि.फार्मेसीमा १३७ र वि.पि.एच.मा ७१ जना विद्यार्थी अध्ययरन छन् । प्रतिष्ठानले शैक्षिक कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट पहिलो चरणमा ३ वटा विषय अध्यापनको अनुमति पाएको थियो भने पछि थप एक संकायको अनुमति पाएको थियो । सो बाहेक प्रतिष्ठानले एमडीजिपी तर्फ ७ संकायमा ८ सिटमा पिजी कोर्षको अध्यापन अनुमती पाएको छ ।