भीमफेदी–१, भैंसेमा नालामा भेटिएको चितुवा । चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याइएपछि चितुवाको उपचार गरिदै ।

हेटौंडाः त्रिभूवन राजपथअन्तर्गत भीमफेदी गाँउपालिका–१, भैंसेमा आइतबार बिहान घाइते अवस्थामा एउटा वयस्क चितुवा भेटिएको छ । डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत इमनाथ पौडेलका अनुसार घाइते चितुवालाई उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ । सडक छेउको नालामा घाइते अवस्थामा भेटिएको चितुवाको बाँया आँखा र पेटमा चोट लागेको छ ।


बिहान ११ बजेको समयमा भैंसे पुगेको डिभिजन वन कार्यालय मकवानपुरको टोलीले घाइते चितुवाको उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो । घाइते चितुवालाई उद्दार गरेर फलामे खोरमा राखी चितवन पठाइएको थियो । डिभिजन वन कार्यालय मकवानपुरका अधिकारीले नै घाइते चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याएका हुन् । चितुवा कसरी घाइते भयो भन्ने विषय निकुञ्जका प्राविधिक टोलीले उपचार सुरु गरेपछि थाहा हुने वन अधिकृत पौडेलले बताउनुभयो ।

नालामा घाइते अवस्थामा भेटिएको चितुवालाई डिभिजन वन कार्यालय मकवानपुरका सुरक्षा इन्चार्ज यादवेन्द्र पौडेल नेतृत्वको टोलीले उद्दार गरेर डिभिजन वन कार्यालय ल्याएको हो । घाइते अवस्थामा भेटिएको चितुवालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट टिम बोलाउने तयारी भइरहेका बेला डिभिजन वन कार्यालयका सुरक्षाकर्मीकै टोलीले चितुवालाई नियन्त्रणमा लिन सफल भएका थिए ।

आइतबार चितवन पुर्‍याइए लगत्तै चितुवाको उपचार सुरु भएको सुरक्षा इन्चार्ज पाडैलले बताउनुभयो । खानेकुरा नपाएर निक्कै गलेको देखिने चितुवाको स्वास्थयमा निकुञ्जमा उपचारपछि सुधार हुने अपेक्षा गरिएको पौडेलले बताउनुभयो । मकवानपुरको महाभारत पहाडको श्रृंखलामा चितुवाको बसोबास राम्रो रहेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख ईमनाथ पौडेलको भनाइ छ ।