हेटौंडाः मकवानपुर जिल्लाको थाहा नगरपालिका–४, नारायण झ्याउमा भएको एक बालविवाहलाई सरोकारवालाको उपस्थितिमा रोकेको छ । थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक सिं लामा, थाहा नगरपालिकाको सामाजिक विकास शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिव पाल्साङ लामा, बालविवाहमुक्त बागमती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली, लेकाली बसिफाँट मावि व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार लामालगायत स्थानीयको उपस्थितिमा १४ वर्षीया बालिका र २० वर्षका केटा बीच भएको विवाह रोकिएको हो ।
साउन ५ गते आफूखुसी विवाह गरेको पाइएपछि बालिकाकी आमाले वडा अध्यक्ष दीपक सिं लामालाई जानकारी गराएकी थिइन् । वडा अध्यक्ष लामाले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा जानकारी गराउनु भएको थियो ।
प्रदेश मन्त्रालयमा जानकारी प्राप्त भएपछि सरोकारवालाको उपस्थितिमा आज बालविवाह रोक्न सफल भएको हो । थाहा नगरपालिका–४, नारायण झ्याउ नै पुगेर बालविवाह रोक्नुका साथै १४ वर्षीया बालिकालाई हेटौंडास्थित सिविन बालहेल्पाइनको आवासमा ल्याइएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । ज्ञवालीका अनुसार बढीमा दुई साता ती बालिकालाई सिविनमै राखेर परामर्श गरी परिवारमै पुनस्र्थापित गर्नुका साथै उनलाई पुनः विद्यालय जाने वातावरण तयार पारिनेछ ।