कोरोना संक्रमणको त्रासले करिब ३ महिनाको बन्दाबन्दी कष्टपूर्ण भन्दा पनि त्रासदिपूर्ण रह्यो । कोरोनाको संक्रमणको त्रासले लकडाउन खुलेसँगै मानव व्यवहारदेखि सामाजिक प्रणालीमा नै आमुल परिवर्तन हुन सक्छ भन्ने अनुमान गरिएको थियो । तर, कोरोनाको संक्रमण जारी नै रहँदा सरकारले आवश्यक सतर्कतामा ध्यान नदिई लकडाउन खुकुलो हुँदै अहिले करिब करिब खुला भइसक्दा मानवीय व्यवहारमा अपेक्षित सतर्कता देखिएको छैन । लामो समयको बन्दाबन्दी पछि खुलेको सामाजिक परिवेश पुरानै शैलीको देखिन्छ । कोरोनाको महामारी सकिएको छैन । यसबाट बच्न अपनाउनु पर्ने सावधानी र होशियारी देखिँदैन ।

अस्तव्यस्त भएको नागरिक जीवनमा पुरानै व्यवहार दोहोरिएका छन् । कोरोनासँगै बाँच्नु पर्ने आवश्यकताका लागि गर्नुपर्ने पूर्व तयारी हुन सकेका छैनन् । हाम्रा व्यवहार र शैली पूर्ववत् रुपमा सुचारु हुन सक्छन् त ? जोखिम सकिए कै हो ? बर–व्यवहार उस्तै बनाउन सकिन्छ ? यस्ता धेरै प्रश्नको सापेक्षिक उत्तरको खोजी हुनु पर्दछ । नत्र नेपालले पनि अन्य धेरै देशले व्यहोरेको दुर्दशा खेप्न बाध्य हुने खतरा छ ।
कोरोना संक्रमण रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी खुलेसँगै राज्यका सबै क्षेत्र सामान्य बन्ने प्रयास गरेका छन् । कुनै सतर्कता र होशियारी देखिँदैन । नत सरकारी निकायहरुबाट बाध्य नै बनाइएको छ । सवै नागरिक पूर्ववत् रुपमा व्यवहार गर्न थालेका छन् । अब कोरानाको संक्रमण नै सकिएको भान हुन थालेको छ । यो सोचाई र व्यवहार अत्यन्त खतरनाक हुन सक्छ । यसैक्रममा अव विद्यालयहरु पनि गतिशित हुन थाल्ने संकेतहरु छन् । बालबालिकाहरुको उपस्थिति रहने विद्यालयदेखि महाविद्यालयसम्म सञ्चालन गर्नका तयारी भएका छन् । तर विद्यार्थीकै उपस्थितिमा शैक्षिक गतिविधि सुरु गर्दा अपनाउनुपर्ने होशियारी सम्बन्धमा अभिभावक, शिक्षक, विद्यालय परिवारदेखि बालबालिकाहरु प्रशिक्षित हुन आवश्यक छ ।

शिक्षा क्षेत्रमा देखिएको अन्यौलको अन्त्यका लागि तयारी सुखद् पक्ष हो । संस्थागत विद्यालयका शिक्षकहरुको आन्दोलन स्थगित भएको छ भने अनलाईन कक्षाहरु सुचारु भएका छन् । यसले बढ्दै गएको द्विविधाको अन्त्य गरिदिएको छ । यस्तै सामुदायिक विद्यालयहरुले आफ्ना शैक्षिक गतिविधि सुरु गर्न अनुमति पाइसकेका छन् । तर राज्यका निकायहरुबाट गरिनु पर्ने तयारी अझै बाँकी छन् । के सवै विद्यालयहरु एकैपटक सञ्चालन हुन सक्छन् ? भदौसम्मको कोरोनाको प्रकोपको अवस्था कस्तो हुन्छ भन्ने कुनै आँकलन हुन सकेको छैन । लकडाउन खुकुलो भएपछि बढ्दै गएको भिडभाडले जोखिम थपिँदै त जाने हैन भन्ने आशंकाहरु बढाएको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले पनि आउँदो भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । निर्देशनालयले शिक्षण सिकाई सहजताका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि घरमै अभिभावकहरुले सिकाउन सक्ने किसिमको पठनपाठन सामग्री वितरण गरेको दावी गरिएको छ । तर के सवै विद्यार्थी र अभिभावकहरुले यस प्रकारको सामाग्री पाएका छन् ? त्यसको यकिन तथ्यांक आइसकेको हो ? वा नीति बनाएर मात्र छाडिएको छ । यस विषयमा प्रदेश सरकारको तर्फबाट अनुगमन भएको पाइँदैन । प्रदेश सरकारले सुरु गरेका शैक्षिक योजनाहरु यस पटक अन्यौलमा नै छन् । तिनलाई पनि निरन्तरता दिन कोरोनाको अन्त्यको पर्खाइ आवश्यक छ । विद्यालय सञ्चालन गर्नु अघि धेरै विषयमा अध्ययन, अनुसन्धान, विश्लेषण र निष्कर्ष निकाल्नु आवश्यक हुने छ ।