हेटौंडा: कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ । बुधबार नेपाल साउण्ड वेभ्स इभेण्ट्सका संयोजक संगीत श्रेष्ठले पत्रकार सम्मेलन गर्दै शुक्रबार हुन लागेको कुमा सागरको म्युजिक ब्याण्ड कन्सर्टबारे जानकारी गराउनुभएको हो ।
आयोजक समितिका सदस्य चन्द्र शाही र विक्रम शाहीको संयोजनमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा कन्सर्ट गर्न लागेको संयोजक श्रेष्ठले बताउनुभयो । विभिन्न सांस्कृतिक एव्म सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको इभेण्ट्सले हेटौंडामा पहिलो पटक संगीतिक प्रस्तुति गर्न लागेको उहाँले बताउनुभयो ।
विशेषगरी नेवारी संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको कन्सर्टमा लोकनृत्य, नेवारीनृत्य लगायतका विभिन्न गायन प्रस्तुति रहने उहाँले बताउनुभयो । कन्सर्टमा साधारण प्रवेश शुल्क प्रतिव्यक्ति ५ सय र भिआइपी प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ निर्धारण गरिएको उहाँले बताउनुभयो । कार्यक्रमको साउण्ड पार्टनरमा सुरज तितुङ (बाबु) रहनुहुने उहाँले बताउनुभयो ।
कार्यक्रम आयोजक समितिलाई हेटौंडा–११ स्थित होटल स्मारकले ५० प्रतिशत छुट दिएको छ भने फ्र्याङ्की स्टडीको पनि सहयोग रहनेछ । कन्सर्टमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ५ लाख रुपैयाँ कलाकारका लागि खर्च हुनेछ ।
कन्र्सटबाट फाइदा भएमा विद्यालयका निम्न वर्गका विद्यार्थीका लागि शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिने उहाँले बताउनुभयो । कन्सर्टमा करिब ४ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको उहाँले बताउनुभयो । हेटौंडाको लाफिङ हाउस, मेलो बासुकला, कफीबारलगायत ठाउँबाट प्रवेश टिकट उपलब्ध हुने उहाँले बताउनुभयो ।
कन्सर्टमा ६ वटा खाजाको स्टल व्यवस्था गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलगायतसँगको सहकार्यमा सुरक्षा व्यवस्थापन गरिने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य सरोज खड्गी, देवराज थापा, सविन मोक्तान, जनरल श्रेष्ठ (जेन), वृज यादवलगायतको उपस्थिति रहेको थियो ।