हेटौँडा ः बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले नागरिकलाई अनुभूत हुनेगरी विकासका काम अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । मन्त्री मास्केले नागरिकको आवश्यकता अनुसारको विकासका काम अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
भीमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित माण्डु खोलामा निर्मित पक्की पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मास्केले जनतालाई डेलिभरि दिनु वर्तमान सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । नागरिक माझमा रहेका नैराश्यता अन्त्य गर्न प्रदेश सरकार र मातहतका निकायले जिम्मेवार ढंगबाट काम गर्नुपर्ने उहाँको भनाइ थियो । विकास निर्माणको कामलाई व्यवस्थित र पारदर्शी बनाउन र नागरिक लक्षित भएर काम गर्न उहाँले निर्देशन दिनुभयो ।
मन्त्री मास्केका अनुसार प्रदेश सरकारको पूर्वाधार विकासमा पर्याप्त स्रोत नभएपनि नागरिकलाई सहज सेवा प्रदान गर्नेगरी काम गर्नुपर्नेछ । सीमित स्रोत र साधनका वावजुद पनि सरकारले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । उहाँले आगामी दिनमा पनि विकास निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले सशक्त ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गत असोजको विपद्ले प्रादेशिक सडक गुरुयोजना अन्तर्गतका सडक र पुलहरुमा ठुलो क्षति भएको उल्लेख गर्नुहुँदै ती संरचनाहरुको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापन गरेर काम गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पूर्वाधार निर्माणमा वर्तमान सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । आगामी दिनमा स्थानीय तहको आवश्यकता अनुसार प्रदेश सरकारले बजेट विनियोजन गरी विकास निर्माणको काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग भैंसे–भीमफेदी सडकखण्ड अन्तर्गत प्रदेश यातायात पूर्वाधार निर्देशनालय मार्फत् माण्डु खोलामा १२ करोड ३० लाख ३९ हजार रुपैयाँमा पुल निर्माणसम्बन्धी ठेक्का सम्झौता भएको थियो । ५६.६ मिटर लम्बाईको उक्त पुल २०८० असार २२ मा सम्झौता भई २०८१ असोज २१ मा सम्पन्न भएको थियो ।