हेटौंडाः हेटौंडा उपमहानगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुसँग कार्यशाला गोष्ठीको आयोजना गरेको छ । आइतबार शिक्षा महाशाखाले स्थानीय पाठ्यक्रम निर्माणका लागि पहिलो पटक शिक्षकहरुसँग कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।
उपमहानगरपालिकाले कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम तयार पार्न लागेको छ । गोष्ठीमा साविक ४ वटा श्रोतकेन्द्र अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक र संस्थागत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । गोष्ठीमा श्रोतकेन्द्रबाट ३ जनाका दरले १२ जना र संस्थागत विद्यालयबाट ५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी शिक्षकहरुले ५ वटा समूहमा रहेर पाठ्यक्रमको सैद्धान्तिक एवम् प्रयोगात्मक पक्षका विषयमा छलफल गरेको सिद्धार्थ माविका शिक्षक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्नुहुँदै श्रेष्ठले भन्नुभयो, ‘प्रारम्भिक चरणमा शिक्षकहरुबाट आधारभूत अवधारणा तयार पारिएको छ । अब क्रमशः सरोकारवालासँगको छलफलबाट पाठ्यक्रमको प्रारुप तयार हुन्छ ।’
उपमहानगरपालिकाले कक्षा १ र २ का लागि १०० पूर्णाङ्कको पाठ्यक्रम बनाउन लागेको छ । पाठ्यक्रम निर्माणका लागि अनिल कुमार बानियाँको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । १६० पाठ्यभार रहने गरी ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत प्रयोगात्मक अभ्यास रहनुपर्नेछ । आइतबारको कार्यशालाबाट तयार भएको खाकाकै आधारमा अब उपमहानगरपालिकाले पाठ्यक्रमको सैद्धान्तिक पक्षलाई कायम राख्दै सरोकारवालासँग छलफल सुरु गर्ने बताइएको छ । अब विज्ञ समूह, जनप्रतिनिधिसँग अन्तरक्रिया एवम् कार्यशालाको आयोजना गरेर स्थानीय स्रोत साधनको अधिकतम् उपयोग गरी पाठ्यक्रम तयार पारिने शिक्षा महाशाखाको योजना छ । उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक अनिल कुमार बानियाँको अध्यक्षता एवम् उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा गोष्ठीको उद्घाटन कार्यक्रम भएको हो ।