‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा हरेक खेल गतिविधिसँग जोड्ने गरिएको छ । नेपालमा धेरै प्रकारका खेलहरु खेलिन्छन् । प्रायः सबै खेलका आधिकारिक संघहरु क्रियाशील छन् । संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्ने गरेको छ । तर, अधिकांश खेलको व्यवस्थित र प्रभावकारी प्रशिक्षण तथा नियमित प्रतियोगिता हुन सकेको छैन । धेरैजसो फुटबल, भलिबल, क्रिकेटजस्ता खेलहरुकै प्रतियोगिता हुने गरेको छ । खेलाडी तथा दर्शकसमेत यिनै खेल खेल्न र हेर्न इच्छुक देखिने गरेका छन् । खेलाडी बन्ने लक्ष्य लिएकाहरुलाई अन्य खेलतर्फ खासै आकर्षण गर्न सकिएको छैन । सानैदेखि कुनै खेलप्रति आकर्षित हुनेहरु नै त्यस खेलको खेलाडी बन्न सक्छन् । यसका लागि विद्यालय तहबाटै बालबालिकालाई उनीहरुको रुचि तथा क्षमताअनुसारको खेल अभ्यास तथा प्रतिस्पधाको अवसर प्रदान गर्न सक्नुपर्छ ।

निश्चित उमेर समूहका बालबालिकाहरु दैनिक उपस्थित भइ शिक्षा आर्जन गर्ने स्थान विद्यालय हो । विद्यालयमा दैनिक पठनपाठनको अतिरिक्त, सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप, खेलकुद, नाचगानमार्फत् बालबालिकालाई अधिकतम ज्ञान तथा सीप प्रदान गरी उनीहरुको सक्षमता बढाउने गरिन्छ । विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरुलाई पाठ्यक्रममा आधारित सिकाइका साथै खेल तथा मनोरञ्जनको माध्यमबाट उनीहरुको चौतर्फी विकास गराउन सकिन्छ । यसका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप, परियोजना कार्य, सिर्जनात्मक कार्य, खेल अभ्यास र प्रतियोगिताहरु सञ्चालन गर्नु आवश्यक छ । तर, सरकारले शिक्षामा सिमित लगानी गरेका कारण हाम्रा सामुदायिक विद्यालयहरुले यस्ता गतिविधि गर्न सहज छैन । सरकारले विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि न्यूनतम बजेटमात्र उपलब्ध गराउने भएकाले विद्यालय स्वयम्ले विद्यार्थीलाई सबै प्रकारका खेल तथा अन्य अतिरिक्त क्रियाकलापको अभ्यास तथा प्रतिस्पर्धामा सहभागी गराउन सक्ने अवस्था देखिँदैन ।

विद्यालयले चाहेअनुरुप विभिन्न खेलका आधारभूत सीप, नियम सिकाएर राम्रो खेलाडी उत्पादन गर्न सक्ने तथ्यलाई मनन गरेर हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा कार्यालयले गतवर्षदेखि वडास्तरीय खेलकुद महोत्सव आयोजना गर्न थालेको छ । गत वर्ष २ दिन खेल महोत्सव आयोजना गरेको वडा कार्यालयले यस वर्ष एक महिनासम्म विभिन्न रचनात्मक, सिर्जनात्मक क्रियाकलापसँगै एथ्लेटिक्ससँगै विविध खेलकुद कार्यक्रमको सफल सञ्चालन गरेको छ । वडा कार्यालयकै पहलमा वडाभित्रका ५ संस्थागत तथा ३ सामुदायिक विद्यालयका प्रधानाध्यापकको सहभागितामा शैक्षिक गुणस्तर सुधार समिति गठन गरेर सोही समितिको व्यवस्थापनमा खेलकुद तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा कार्यालयले यसवर्ष नगरस्तरीय फुटबल, भलिबल, बास्केटबल र क्रिकेट प्रतियोगिता आयोजना गरेर उपमहानगरका सबै विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गरेको छ ।

खेलकुद विकास र खेलाडी उत्पादनको आधारभूत स्थान विद्यालय हो । सरकारले पनि वर्षौं अघिदेखि विद्यालयका विद्यार्थी सहभागी गराएर वर्षेनि रनिङशिल्ड प्रतियोगिता गर्दै आएको छ । अहिले राष्ट्रपति रनिङशिल्डको नामबाट पालिका, जिल्ला, प्रदेश हुँदै संघीय तहसम्म प्रतिस्पर्धा हुने गरेको छ । सरकारले विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्नुपर्ने बुझेको भए पनि त्यसको लागि आवश्यक नीति, कार्यक्रम, पूर्वाधार र बजेटको भने व्यवस्थापन गर्न सकेको छैन । देश विकासका लागि दक्ष जनशक्ति उत्पादनको आधारशीला रहेको विद्यालयबाटै खेलकुदको विकास र खेलाडी उत्पादन सहज हुने निश्चित छ । खेल शिक्षकसहित विद्यालयमा खेल सामग्रीको व्यवस्थापन गर्दै वडा तहबाटै विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्ने हो भने देशले धेरै खेलका कुशल खेलाडी पाउन सक्छ ।