कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकापछि चौथो अंगको रुपमा पत्रकारितालाई राखिएको छ । यी सबै अंगहरु स्वतन्त्र, जिम्मेवार, कर्तव्यनिष्ठ, अनुशासित र मर्यादित पेशाको रुपमा रहनु जरुरी छ ।
२०४६ साल भन्दा अगाडि नेपालको पत्रकारको परिचय भनेको ख्याउटे, मलिनो अनुहार, झुस्स परेको दारी, टाउकोमा ढाकाको टोपी, काँधमा भिर्ने सुतीको मैलो झोला, त्यो भित्र डायरी र मसी भर्ने २ रूप्पेमा पाईने फ्लेम कम्पनिको फुन्टिन कलम भन्दा अरु हुन्थेन । लेखाइमा शक्ति चैँ बेजोडको हुन्थ्यो । पञ्चायती मन्त्री तुलसी गिरीको पालाको गलैँचा काण्ड होस् वा पोखराको नमिता–सुनिता काण्ड सबैलाई मसी भरेको कलमले नै ठिक पारेको थियो । अझ त्यतिले नपुगेर पञ्चायती व्यवस्थालाई नै आर्यघाटमा पुर्याउन ठूलो मद्दत पनि मसी भरेकै कलमले गरेको थियो ।
व्यापारीले कालोबजारी गर्यो, माडे साहुले मुद्रा अपचलन गर्यो, रासन–पानीमा मिसावट गर्यो भनेर लेख्थे । मज्जाले काण्ड पुग्नेगरी सबैको विषयमा लेखेर आवाज उठाउँथे । पुरस्कार वापतमा कोहिले गोली खान्थे भने कोहि ठिंगुरामा जाकिन्थे । कठै भन्ने कोहि थिएन । तरपनि आवाज उठाउन छोड्दैन थिए । जनताको नजरमा त्यस्ता आवाज उठाउने खाँटी पत्रकारलाई हेरिने मानसम्मान गज्जबको थियो ।
अहिले चिटिक्क परेको एउटा विदेशी काँधे झोला अनि त्यो झोला भित्र १ थान महँगो ब्राण्डको मोबाइल र ल्यापटप, १ थान डिजिटल क्यामरा, १ थान डायरी, १ थान पाईलट पेन, लोकलाई देखाउनका लागि महँगो मोटरसाइकल, प्रायोजित नेटको लाइन, १ थान कम्प्युटर वा ल्यापटप, १ थान प्रिन्टर मेसिन, हो यत्ति जिनिस छ भने पत्रकार बन्न सजिलै पाइने रैछ । तलब भनेको त्यस्तै हो ।
राजधानीमा भन्दा मोफसलमा वर्षे च्याउसरि उम्रेको छ आजकल पत्रकारको खेती । अनलाइन पत्रिका होस् वा टिभी, एफएम रेडियोदेखि यु–टुबे पत्रकारको साउने भेल बगेको छ । हेर्ने दर्शक, सुन्ने श्रोता होस् वा पढ्ने पाठकले कुन पढ्ने र कुन हेर्ने, कुन सुन्ने भनेर त्यसको मेलो नै पाउन छोडी सके ।
सूचना बाँड्नु र सूचना दिनु नराम्रो कार्य हैन । तर, हरेक कुरालाई फेसन र प्रतियोगिताको हिसाबले हेर्दा त्यसले गाउँ समाजमा कत्तिको असर पु¥याउँछ त्यतातर्फ कसले ध्यान दिने ? एसएलसी परीक्षा दिनासाथ केही दिनको उद्घोषण र पत्रकारिताको तालिमे खेति सुरु हुन्छ । केही दिन पछिको तालिम पश्चात अनि सुरु हुन्छ पत्रकारिताको साउने खेति । न भाषामा शुद्धता छ । न शब्द चयनमा ध्यान दिन्छन् । समाचारको शीर्षक राख्छन् उट्पट्याङ् तरिकाले । हेर्नुस एउटा नमुना ‘प्रचण्डले बाढी हेर्न जानलाई हेलिकोप्टर माग्दा पूर्व राजाले २५ लाख सहयोग गरे ।’ अदालतमा केश चल्दैछ, बयान सक्किएको छैन । फलानो नेता आजै छुट्दैछन् भन्ने भ्रामक समाचार पस्किन्छन् । यो समाचारको नाउँमा विकृति हो कि हैन ?
समाचारको कारणले गर्दा मेरो मानहानी भो भनेर सम्बन्धितले उजुरी दिए । उजुरी दिने भनेको पुलिस कि प्रशासनमा ? पुलिसले धुईपत्ताल लगाएर खोजे, समाते र थुने पनि राज्यको चौथो अंगलाई किन थुन्या भनेर विरोध सुरु हुन्छ । गल्ति गर्ने राज्यको चौथो अंग भनिने पत्रकारलाई थुन्न पक्रिन नपाइने हो भने जनताको करको पैसाले किन प्रहरी तथा प्रशासनलाई पाल्ने ? पत्रकारको बिल्ला भिरेर सिमामा तस्करी गर्न छुट, विज्ञापन दिएन भनेर पीत पत्रकारिता गर्न छुट । जेमा पनि छुट पाइने भएपछि किन पत्रकारिता पेसामा नलाग्ने ?
जनताले हेरुन् नहेरुन् । सुनुन् नसुनन् । पढून् नपढुन् । त्यसको लेखाजोखा नराखिकन अन्धाधुन्द तरिकाले टेलिभिजन, एफएम रेडियो स्टेसन, पत्रिकाको अनुमति दिनु कहाँको न्यायोचित हो ? अनि वर्षे च्याउसरि बिना अनुमति स्वदेश तथा विदेशमा खोलिएको अनलाइन भनिने विद्युतीय डिजिटल पत्रिकालाई बिना अनुमति किन सञ्चालन ग¥यो भनेर रोक्ने कसले ? एउटा जिल्लामा कति वटासम्म दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिका र टेलिभिजन तथा एफएम रेडियो स्टेसन चलाउन दिने भनेर निर्देशिका नै बनाउनु जरुरी छ ।
हिजो राणाको शासनदेखि पञ्चायती व्यवस्थासम्मले अन्याय गर्यो भनेर शासन र व्यवस्था बिरुद्ध ईन्कलावी नारा घन्काउने पत्रकारहरु कांग्रेस, कम्युनिस्ट पार्टीमा लागेर नेतादेखि मन्त्रिसम्म भए । अहिले पनि कांग्रेस, कम्युनिष्टदेखि छोटे पार्टीका सहयोगी बनेका छन् । नेता, मन्त्रिदेखि तिनका नजिकका कार्यकर्ताहरुले मच्चाएको ज्यादती बिरुद्ध धृतराष्ट्र र गान्धारीरुप धारण गर्छन् भने ति हिजोका पत्रकार, पत्रकार पछि बनेका नेता मन्त्रिदेखि पत्रकारको बर्को ओढेर पार्टी नेताको समर्थनमा लेख्नेहरु देशमा राजतन्त्र हटाउनका लागि मात्र पत्रकार बनेका रैछन् भनेर किन नबुझ्ने ?
देशमा अहिले पनि राष्ट्रवादी स्वतन्त्र पत्रकारहरु छन् । तर, पत्रकारहरुको हकहितका लागि भनेर खोलिएको संस्थाको सदस्य पनि बनेका छन् तर जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा तिनीहरु जान पनि सक्दैनन् र पुग्न पनि सक्दैनन् । स्वतन्त्र अनि खाँटी पत्रकार बन्नु पनि देश र जनताका लागि अभिसाप नै हो ।