सबैले २०८४ मा हुने निर्वाचनको चर्चा गर्छन् । अझ रास्वपाले ८४ मा बहुमत ल्याउने डंका समेत पिट्यो । रबि लामिछाने ठगी प्रकरणमा मुछिएपछि रास्वपाको बहुमत ल्याउने स्वर मधुर भएको छ । एमाले पनि आगामी ८४ कै निर्वाचनमा बहुमत ल्याउने भन्छ । कांग्रेस झन् ठूलो पार्टी, उसको झन् कुरै भएन । नयाँ दलहरूको उदयको सम्भावना पनि प्रबल छ । नेपालको राजनीतिक परिदृश्यमा प्रत्येक निर्वाचनले नयाँ सम्भावना र चुनौतीहरूको संकेत गर्दछ ।

२०८४ को आगामी निर्वाचनमा, मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रको वर्चस्वलाई चुनौती दिन नयाँ दलहरूको भूमिकाबारे विश्लेषण गर्नु महत्त्वपूर्ण छ । विगतका निर्वाचनहरूका नतिजाहरू र हालको राजनीतिक परिदृश्यलाई आधार मान्दै नयाँ दलहरूको सम्भावना कति बलियो छ भनेर आकलन गर्न सकिन्छ । कांग्रेस, एमाले, माओवादी लामो समय सरकारमा रहे । शासनसत्तामा रहँदा यिनीहरूले जनताको अपेक्षा र भरोसा पूरा गर्न सकेनन् । नेपाली जनतालाई सबैखाले गठबन्धनको अनुभव छ, सबै गठबन्धन असफल र स्थायी हुन सकेन । अहिले कायम भएको कांग्रेस–एमाले गठबन्धनको यात्रा पनि असफलताको बाटोमा छ ।

स्थायित्व र संविधान संशोधनको मुद्दा उठाएर गठन भएको वर्तमान सरकार संकटमा परिसकेको छ । सरकार र प्रतिपक्षमा रहनुपर्ने दल दुबै मिलेर सरकार निर्माण गर्नु अस्वाभाविक र नौलो अभ्यास हो । तर यो सरकार पनि ढल्ने चर्चाले राजनीतिक वृत्त तरंगित छ । यी असफल भए अब बाँकी विकल्प छैन । यस्तो अवस्थामा जनताले नयाँ दल वा नयाँ विकल्प खोज्ने अवस्था रहन्छ ।

नेपालको राजनीतिक इतिहासमा परम्परागत दलहरूप्रतिको असन्तोष बढ्दो छ । कुशासनले गर्दा २०८० को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो नयाँ दलको उदय त्यसैको परिणाम हो । परम्परागत दलहरूप्रति अविश्वास र उनीहरूको कमजोर नेतृत्वले नयाँ दलहरूको लागि अवसरको झ्याल खुल्न सक्छ ।

२०८४ को निर्वाचनमा युवा मतदाताहरू निर्णायक बन्न सक्छन् । देशका ५०% भन्दा बढी जनसंख्या ३५ वर्ष मुनिका छन्, जसले पारम्परिक दलहरूको पुरानो एजेण्डाभन्दा परिवर्तनकारी नीतिहरू खोजिरहेका छन् । नयाँ दलहरूले यी मतदाताहरूलाई आकर्षित गर्न, रोजगारी, प्रविधि, शिक्षा, र आर्थिक सुधारजस्ता मुद्दाहरूलाई प्राथमिकतामा राख्न सक्दा नयाँले आकर्षित गर्ने सम्भावना रहन्छ ।

नयाँ दलहरूको सम्भावनालाई सीमित गर्ने मुख्य चुनौती उनीहरूको संगठनात्मक संरचना हो । नयाँ दलहरूले दीर्घकालीन प्रभाव कायम राख्न, बलियो संगठनात्मक आधार, स्पष्ट एजेण्डा, र विश्वसनीय नेतृत्व निर्माण गर्न आवश्यक छ । परम्परागत रूपमा, नेपाली राजनीति गठबन्धनमा आधारित छ । २०८४ मा पनि यो परिपाटी जारी रहने देखिन्छ । नयाँ दलहरूले परम्परागत दलहरूसँग गठबन्धन गर्नुहुँदैन, तिनीहरूलाई अलग चुनौती दिने रणनीति बनाउनुपर्छ ।

रबि लामिछानेले “नो, नट अगेन” भने, पुराना नेता काम छैन भने । तर तिनकै पुच्छर समातेर सरकारमा जाने काम भयो । जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकोमा गृहमन्त्री नै चाहिने जुन चरित्र र प्रवृत्ति देखियो, यसले पनि रास्वपाको लोकप्रियता स्खलित हुन पुग्यो । तसर्थ नयाँ भन्ने दलहरू कार्यक्रमिक रूपमा सशक्त देखिनु जरूरी छ ।

रास्वपाको भविष्य अन्योल रहेको वर्तमान परिप्रेक्ष्यमा अर्को वैकल्पिक शक्तिको उदय हुन सक्ला भन्न सक्ने अवस्था छैन । आम जनता बालेनलाई पनि आशाको नजरले हेरेका छन् । स्वतन्त्र मेयरमा बालेन साहले जितेपछि जनता विकल्प खोजिरहेका छन् भन्ने अन्डरकरन्ट बुझेका रबि लामिछानेले पार्टीको नाम नै स्वतन्त्र राखेर राजनीतिमा हामफालेका घटना यहाँ स्मरण गर्नुपर्छ ।

बालेन अहिले पनि चर्चित र लोकप्रिय मेयर हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिँदा कसैले बालेनले जित्छ भन्दैनथे । तर ठूला पार्टीका अलोकप्रिय उम्मेदवार हुनु र वितृष्णा चरमढंगले बढ्दा बालेनले बाजी मारे । आज बालेनको इमेज बलिउडको सेलिब्रेटी जस्तो छ । सामाजिक सञ्जाल हेर्दा यिनी लोकप्रियताको शिखरमा छन् । आखिर बालेनले त्यसको चमत्कारी काम के गरेका छन् र ? यिनले ठूला–ठूला विकासका काम गरेको पनि देखिँदैन । नियमित महानगरले गर्ने काम नै यिनले पनि गरेको देखिन्छ ।

तर पनि यिनी हाइहाइ छन् । न्यूरोडको फुटपाथ होस् वा बागमती किनारमा रहेका सुकुम्बासीको मुद्दा होस्, केपी ओली नै यिनीसँग ठोक्किन आइपुग्छन् । ८४ को निर्वाचनमा बालेन पार्टी खोलेर आउँछन् वा आउँदैनन् प्रष्ट छैन । यदि यिनी राजनीतिक दल खोलेर आए भने ठूला पार्टीका लागि ठूलो चुनौती हुन सक्छन् ।

नयाँ बन्ने दलहरूले नीति, विचार, कार्यक्रममा स्पष्टता ल्याउन सके, यिनै आकर्षणको केन्द्र हुन सक्छन् । २०८४ को निर्वाचन नयाँ राजनीतिक सम्भावनाहरूको परीक्षण गर्ने महत्वपूर्ण मोड हुनेछ । नयाँ दलहरूको सम्भावना बलियो बनाउने मुख्य आधार, युवा र पहिलोपटकका मतदाताहरूलाई आकर्षित गर्नु, ठोस एजेण्डा प्रस्तुत गर्नु, र संगठनात्मक स्थायित्व कायम गर्नु हो ।

नयाँ दलहरूले स्पष्ट दृष्टिकोणसहित दीर्घकालीन रणनीति अपनाए मात्र, उनीहरू आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्षम हुनेछन् । नेपालमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रभाव सधैं रहन्छ । चीन, भारत, र अन्य शक्ति राष्ट्रहरूको रणनीतिक स्वार्थले नेपालका राजनीतिक घटनाक्रममा प्रभाव पार्छ । नयाँ दलहरूले आफ्नो परराष्ट्र नीति स्पष्ट पारेर जनताको मन जित्न सक्नुपर्छ ।

जातीय, लैङ्गिक समानता, र क्षेत्रीय विभेद जस्ता मुद्दाहरूलाई नयाँ दलहरूले सही तरिकाले सम्बोधन गर्न सके, जनसमर्थन बढ्छ नै । नयाँ दलहरूले स्पष्ट दृष्टिकोणसहित दीर्घकालीन रणनीति अपनाए मात्र, उनीहरू आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्षम हुनेछन् ।

माथि उल्लेखित कुरा हुन सकेन । सशक्त विकल्प देखिएन भने परम्परागत पार्टी कांग्रेस, एमाले, माओवादी नै जनताको रोजाइ हुनसक्छ । चितवन, तनहुँको उपनिर्वाचनमा जनताले ठूला पार्टीप्रति देखाएको आक्रोश पछिल्ला उपनिर्वाचनमा देखिएन । ठूला पार्टीलाई नै जनताले रोजे ।

पछिल्लो ४१ ठाउँ भएको चुनावमा रास्वपाले एउटा वडा जित्यो, बाँकी पत्ता सफा भयो । राप्रपाको कन्तबिजोग देखियो । त्यसैले सशक्त वैकल्पिक शक्तिको उदय हुन सकेन भने ८४ मा यहीं ठूला पार्टी फेरि पनि शक्तिका रूपमा स्थापित हुन सक्छन् । अझ कांग्रेस र एमाले सरकारमा छन् । यिनले गठबन्धन गरेर उम्मेदवारी दिए भने अन्य शक्तिको अवस्था के होला ?

साना दलहरूको अस्तित्व समाप्त पार्न एकातिर थ्रेसहोल्ड बढाउने सरकारी तयारी छ । संविधान संशोधनमार्फत सरकार समानुपातिकमा समेत पुनर्विचार गर्ने मानसिकता छ । दुई ठूला पार्टी सरकारमै रहेको अवस्थामा, यिनको विरोधमा ठूलो लहर आउन पनि सक्छ । पछिल्लो उपनिर्वाचनमा माओवादी लोकप्रिय देखियो । भ्रष्टाचारविरोधी प्रचण्डको कदमलाई आमजनताले सकारात्मक रूपमा हेरे ।

माओवादी उपनिर्वाचन र दक्षिण आशिर्वादले हौसिएको अवस्था छ । ८४ मा माओवादीलाई पुरानै अवस्थामा पु¥याउने उद्घोष प्रचण्डले गरेका छन् । तसर्थ, २०८४ को निर्वाचन सबैका लागि उत्सुकता छ नै । अझ यो नेपाली लोकतन्त्रको परिपक्वताको परीक्षा पनि हो । अस्तु ।