अपाङ्गता परिचयपत्र वितरण गरिँदै ।

हेटौंडा ः राक्सिराङ् गाउँपालिका–६ र ७ मा अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । राक्सिराङ गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार अपाङ्गता परिचयपत्र वितरणसँगै अपाङ्गता भएका व्यक्तिको निशुल्क स्वास्थ्य जाँच समेत गरिएको छ । बिहीबार वडा नम्बर–६ र शुक्रबार वडा नम्बर–७ मा स्वास्थ्य जाँचसँगै अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

६ नम्बर वडामा ३३ जना र ७ नम्बर वडामा २६ जनालाई अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । गत आर्थिक वर्षको घरधुरी सर्भेक्षणमा प्राप्त भएको तथ्याङ्क अनुसार सबैभन्दा धैरै अपाङ्गता परिचयपत्र नभएको पाइएपछि सो वडामा सर्वप्रथम कार्यक्रम सञ्चालन गरिएको र आउँदो गाउँसभा सम्पन्न पश्चात अन्य वडामा पनि कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना रहेको पालिकाका सहायक महिला विकास निरीक्षक गोमा पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘क’ वर्गका अपाङ्गतामा ८ जना, ‘ख’ वर्गमा १९जना, ‘ग’ वर्गमा १४ जना, ‘घ’ वर्गमा १९ जना रहेको पन्थी बताउनु भयो । साथै कार्यालय खुलेको समयमा अपाङ्गता भएका व्यक्तिले जुनसुकै समयमा पनि अपाङ्गता परिचयपत्र लिन सकिने उहाँले बताउनु भयो । अपाङ्गता परिचयपत्र वितरण शिविरमा राक्सिराङ गाउँपालिकाका डाक्टर योगमेहर श्रेष्ठसहित ६ जनाको टोलीले परीक्षण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समितिका पदाधिकारी र स्थानीय युवाको सहयोग रहेको थियो ।