नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा मानिएको नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । प्रत्येक तीन वर्षमा हुने महासंघ निर्वाचन यस वर्ष केही ढिलो गरी सम्पन्न भएको हो । महासंघको सदस्यता शुद्धिकरण अभियानका क्रममा विभिन्न जिल्लामा विवाद भएर पटक–पटक रोकिएको निर्वाचन मंसिर अन्तिममा सम्पन्न भयो । महासंघको जिल्ला, प्रदेश र केन्द्रीय सबै समितिको एकै पटक निर्वाचन सम्पन्न भएको छ । सबै तहको निर्वाचनको परिणाम सार्वजनिक भई पदस्थापन तथा कार्यभार ग्रहणको काम भइरहेको छ । यस पटक पत्रकार महासंघको निर्वाचनको क्रममा देखिएको दलीय हस्तक्षेप र चासोले भने स्वतन्त्र पत्रकारिताको धज्जी उडाएको छ । यसले पत्रकारितालाई दलीय राजनीतिबाट मुक्त गर्न थप चुनौती हुने समेत देखाएको छ ।

स्वतन्त्र पत्रकारिताको दुहाइ दिने अधिकांश पत्रकारहरु कुनै न कुनै राजनीतिक दलहरुसँग आवद्ध रहेको निर्वाचनको क्रममा छताछुल्ल भयो । कुन पत्रकार चुनावी प्रतिस्पर्धामा आयो भन्दा पनि कुन दल निकट पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रियो भन्ने कुराले महत्व पायो । अझ निर्वाचन परिणामलाई लिएर राजनीतिक नेतृत्व र पत्रकार स्वयम्ले पनि आफ्नो पार्टी निकटको पत्रकार संगठनले सत्तारुढ गठबन्धन वा प्रतिपक्षी गठबन्धनलाई पराजित गरेको भन्दै बधाईको ओइरो लाग्यो । पत्रकार महासंघको चुनावमा पत्रकार नै उम्मेदवार र मतदाता भए पनि कुनै पार्टी निकट पत्रकार विजयी वा पराजित भएको चर्चाले सामाजिक सञ्जालमा व्यापकता पायो । प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन आदि नामबाट अधिकांश पत्रकारहरुको पहिचान बन्यो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै पत्रकारितालाई पनि राज्य सञ्चालनको महत्वपूर्ण अङ्ग मानिन्छ । राज्यको चौथो अङ्गको रुपमा स्वीकार गरिएको पत्रकारिता दलीय पहिचानबाट मुक्त हुनुपर्छ । कुनै दलसँग आवद्ध भएको पत्रकारले स्वतन्त्र पत्रकारिता गर्न गाह्रो हुन्छ । आफू आवद्ध दलको पक्षपोषणमा पत्रकारिता केन्द्रित हुनसक्छ । निष्पक्ष न्याय सम्पादनका लागि स्वतन्त्र न्यायपालिकाको महत्व भएजस्तै निष्पक्ष समाचार र विचारका लागि स्वतन्त्र पत्रकारिता आवश्यक हुन्छ । स्वतन्त्र पत्रकारिता भए मात्र आम नागरिकले सही सूचना प्राप्त गर्न सक्छन् । पत्रकारको साझा संगठनको रुपमा मानिएको पत्रकार महासंघको निर्वाचनले मुलुकको पत्रकारिता दलगत राजनीतिबाट ग्रस्त रहेको तथ्यलाई छताछुल्ल बनाइदिएको छ । धेरैजसो पत्रकारहरु कुनै न कुनै राजनीतिक दलको भातृ संगठनमा आवद्ध छन् । कतिपय जिल्लामा राजनीतिक दलले पत्रकारलाई कारबाही गरेको निर्णय सार्वजनिक हुनु र राजनीतिक दलहरुले आफ्नो दल निकटको पत्रकारलाई चुनावमा भोट हाल्न अपिल गर्नुले पत्रकारको राजनीतिक संलग्नता पुष्टि गरेको छ ।

पत्रकारितालाई राजनीतिक आस्थासँग जोडेर स्वतन्त्र पत्रकारिता सम्भव हुँदैन । राजनीतिक दल तथा नेतृत्वले दलीय पत्रकारिताको पक्षपोषण गर्नु स्वभाविक भए पनि पत्रकार स्वयम् यसप्रति सचेत हुनु आवश्यक छ । केही पत्रकारले राजनीतिक दल र तिनका नेतृत्वबाट लाभ लिए भन्दैमा आम पत्रकारले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यतालाई भुल्नु हुँदैन । पत्रकारिता गर्नेहरु राजनीतिक दलका नेता, कार्यकर्ताको रुपमा नभई पत्रकारकै रुपमा चिनिनु पर्छ । पत्रकार राजनीतिक कार्यकर्ताको झुण्डको रुपमा रहेसम्म स्वतन्त्र पत्रकारिताको धज्जी उड्ने निश्चित छ । नेपाल पत्रकार महासंघको नेतृत्व पाउन सफल भएका पत्रकारले मात्रै भए पनि राजनीतिक दलको पहिचान त्यागेर स्वतन्त्र पत्रकारको पहिचान बनाउनु उचित हुनेछ ।