हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले १३ बिधाका २४ जनालाई सम्मान गरेको छ । जिससले बुधबार वार्षिक समीक्षा कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा पत्रकार, पालिका, सहकारी, समाजसेवी, खेलाडी, मेलमिलापकर्ता, स्वास्थ्य स्वयम्सेविका, सामुदायिक वन उपभोक्त समूह, कृषक समूह र उत्कृष्ट कर्मचारी छन् । जिसस मकवानपुरले सहकारीतर्फ बागमती गाउँपालिका—५, भार्लेनीस्थित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ । गैरसरकारी संस्थातर्फ हेटौंडा—५ स्थित मकवानपुर पोजेटिभ समूहलाई सम्मान गरिएको छ ।

कर्मचारीतर्फ इन्द्रसरोवर गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन खतिवडा र जिसस मकवानपुरकी सबइन्जिनियर पूजा यादवलाई सम्मान गरिएको छ । समाजसेवातर्फ हेटौंडा—११ स्थित मामाघर नेपालका अर्पण पराजुली र हिरण्य नेपालकी कल्पना शर्मालाई सम्मानित गरिएको हो । बक्सिङ खेलाडी सोहन राई तथा उसु र कबड्डी खेलाडी शान्ति थिङलाई पनि सम्मान गरिएको छ । मकवानपुरगढी–४ को मनकामना सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको छ । थाहा नगरपालिका–१ की स्वास्थ्य स्वयम्सेविका सुनमाया गोपाली, राक्सिराङ गाउँपालिका–३ का मेलमिलापकर्ता थलबहादुर थापा मगर सम्मानित भएका छन् । यस्तै, भीमफेदी गाउँपालिका–१ की शर्मिला महतलाई सम्मान गरिएको छ । एसईई परीक्षामा ७५ दशमलब ७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय र ९८ दशमलव ७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने हेटौंडा–२ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कूललाई सम्मान गरिएको हो । घरेलु तथा साना महिला उद्यमीतर्फ मनहरी गाउँपालिका–७ स्थित अनग्रही सिलाई प्रशिक्षण केन्द्रकी लक्ष्मी प्रजा र हेटौंडा—५ स्थित श्रमजीवी महिला काष्ठकला उद्योगकी विष्णुकुमारी राई सम्मानित भएका छन् । पत्रकारतर्फ नेपाल टेलिभिजनकी मकवानपुर संवाददाता भावना रिजाल र प्रदेश दैनिकका सम्पादक गणेश दर्पण अधिकारीलाई सम्मान गरिएको छ । बकैया गाउँपालिका–७ का जनजागरण कृषि तथा पशुपालन कृषक समूहलाई सम्मान गरिएको छ ।

यस्तै, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको आधारमा उत्कृष्ट पालिकालाई सम्मान गरिएको छ । ७३ दशमलब ५ प्रतिशत अंकसहित प्रथम हुने थाहा नगरपालिका र मनहरी गाउँपालिका, ७१ प्रतिशत अंकसहित द्वितीय हुने हेटौंडा उपमहानगरपालिका तथा ७० दशमलब ५ प्रतिशत अंकसहित तृतीय हुने मकवानपुरगढी र कैलाश गाउँपालिकालाई सम्मान गरिएको हो । कार्यक्रममा मकवानपुरका १० वटै पालिकाका प्रशासकीय प्रमुख तथा अधिकृत, सरकारी र गैरसरकारी संघसंस्थाहरुबाट गत आर्थिक वर्ष २०८०÷८१ मा गरेका कामको विषयमा समीक्षात्मक प्रस्तुतिकरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयका अधिकृत किरण थापाले गत आर्थिक वर्षमा उपमहानगरले गरेका प्रमुख उपलब्धीहरुबारे प्रस्तुतिकरण गर्नुहुँदै राजस्व संकलनमा समस्या रहेको बताउनुभयो । जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले कार्यालयद्वारा सञ्चालित मुख्य क्रियाकलापबारे प्रस्तुतिकरण गर्नुहुँदै सहभागितामा कमी, समन्वयमा दोहोरोपन, अधिकारको प्रयोगजस्ता विषयमा समस्या आउने गरेको जानकारी दिनुभयो ।

यस्तै, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नगरको प्रमुख प्रशासकीय भवन र १२ वटै वडाको आफ्नै भवन निर्माण सम्पन्न गरी कार्यालय सञ्चालन गरिएको बताउनुभयो । उहाँले भौगोलिक अवस्थिति अनुरुप नीति निर्माण तथा कार्यान्वयन, आन्तरिक आयको सबलीकरण गर्दै दिगोपनाजस्ता विषय मुख्य चुनौती रहेको जानकारी दिनुभयो । पशु सेवा कार्यालय मकवानपुरका पशु चिकित्सक बज्रकिशोर ठाकुरले पशुको स्वास्थ्य उपचारमा पशुपालक कृषकलाई पशु स्वास्थ्य सेवा प्रदान गरिँदै आएको बताउनु भयो । पर्याप्त स्रोत साधनको अभावले समस्या झेलिरहेको उहाँको भनाइ छ । बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बीचमा प्रभावकारी सञ्चार र सहकार्य हुन नसकेको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीबीचको सञ्चार, समन्वय र सकार्यको अभावलगायत समस्या रहेको उहाँको भनाइ छ । सहरी विकास तथा भवन प्रदेश कार्यालयल हेटौंडाका अधिकृत इन्जिनियर अंकित श्रेष्ठले गत आर्थिक वर्षको वार्षिक भौतिक तथा वित्तीय प्रगति प्रस्तुत गर्नुभयो । उहाँले ९ वटा प्रादेशिक बहुवर्षीय योजना सञ्चालनमा रहेको बताउनुभयो । सडक कालोपत्र, स्ल्याब ढलान, ग्रावेल, ढुंगा छपाई, नाला निर्माण, सहकारी भवन निर्माणजस्ता कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकारले स्थानीय तहलाई सहजीकरण गर्न आवश्यक पर्ने संघीय ऐन एवम् कानुन यथाशिघ्र निर्माण गर्न, आन्तरिक स्रोतको अवस्था कमजोर रहेका स्थानीय तहहरुको पहिचान गरी बजेटमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।