हेटौंडाः सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–२, भिमास्थानकी १४ वर्षीया किशोरीले बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको पदभार ग्रहण गरेकी छिन् । सोमबार हेटौँडास्थित मन्त्रालयमा जेनिशा क्याप्छाकी मगरले मन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै जेनिशाले वातावरणीय पक्षलाई मध्यनजर गर्दै उद्योग सञ्चालन गरेर आर्थिक समृद्धिको पक्षमा काम गर्ने जानकारी दिइन् । यस्तै सबैभन्दा पहिला विदेश पलायन भएकाहरुलाई देशमा फर्किने वातावरण निर्माण गरिने प्रतिबद्धता जनाइन् । सिन्धुली जिल्लाको भवानी माध्यमिक विद्यालयको कक्षा–९ मा अध्ययनरत् जेनिशाले विद्यालय तहमा अध्ययनरत् किशोरकिशोरीलाई व्यवहारिक ज्ञानलाई जोड दिँदै भावी दिनमा रोजगारीको बाटो देखाउन जरुरी रहेको धारणा राखिन् । सीपमूलक कार्यक्रम विद्यालय तहमै आयोजना गरे बेरोजगारीको दर घट्ने उनको भनाइ थियो ।
मन्त्री बनेकी जेनिशालाई सिन्धुली जिल्लाकै सुनकोसी गाउँपालिका–५ स्थित प्रगतिशील माध्यमिक विद्यालयमा अध्ययनरत १० कक्षाकी छात्रा दुर्गा श्रेष्ठले किशोरीहरुको हकहितको माग गर्दै मन्त्री जेनिशालाई मागपत्र बुझाइन् । मागपत्रमा देशभरका किशोरीले भोक्नु परेका समस्यालाई उजागर गरिएको थियो । विशेष स्वास्थ्यकर्मीहरुको व्यवस्था गर्न, स्वास्थ्य कार्यक्रमहरुमा सहभागिता, विद्यालयमा शिक्षण र सामग्री उपलब्ध गराउन, संकटमा सेवा सुनिश्चित गर्न माग गरिएको छ । यस्तै निशुल्क र गुणस्तरीय विद्यालय शिक्षा, उच्च शिक्षाका लागि छात्रवृत्ति, विद्यालय गतिविधिहरुमा समान सहभागिता, सुरक्षित र समावेशी विद्यालय वातावरण, प्राविधिक शिक्षा अवसर प्रदान गर्न माग गरिएको छ । प्रजनन् स्वास्थ्य, सुरक्षा र संरक्षणको माग गर्दै पत्र बुझाएको छ । बागमती प्रदेश सरकारका विभागीय प्रमुखको विभागीय कामकाजको बारेमा समेत छलफल गरिएको थियो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्न गरिएको संघर्षपूर्ण यात्रा स्मरण गर्नुहुँदै निरन्तरको प्रयासले मात्र सफल भएकाले लक्ष्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सामान्य किसानको परिवारमा हुर्केर क्रान्तिको यात्रादेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा विभिन्न लोभलालच देखाए, तर कतै विचलिन भएनन् । मन्त्रालयले गरिरहेको नीति निर्माण तथा कार्यक्रमबारे मन्त्री तामाङले जानकारी दिनुभयो । सिन्धुलीको दुधौलीमा रहेको नदि उकास गरिएका जग्गा मात्र राज्यले संरक्षण गरेर त्यस्ता जग्गामा उत्पादन गर्ने हो भने प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । २/४ पैसा दिएर उद्योग सञ्चालन हुन नसक्ने जानकारी दिनुहुँदै एउटा उद्योग सञ्चालन बराबर दैनिक एक लाख रुपैयाँको उत्पादनको प्रक्रियामा छ भने बिजुली र बाटोको व्यवस्थापन गरे दुई/चार हजारको किसानले अपेक्षा नगर्ने उहाँको भनाइ छ । यस्तै किशोरीहरुले मन्त्रालयको विभाग समेत भ्रमण गरिएको छ ।
अन्तर्राष्ट्रिय दातृ संस्था प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा जनजाति समाज विकास कार्यक्रम सिन्धुली र ह्याण्डस् नेपाल सिन्धुलीले किशोरी सशक्तीकरणका लागि ‘गल्र्स स्ट्ण्डीङ स्ट्रङ्ग’ परियोजनाअन्तर्गत एकदिनका लागि किशोरीलाई प्रदेश मन्त्रीको भूमिका निर्वाह गर्ने कार्यक्रम सञ्चालन गरेको हो । किशोर–किशोरीको सशक्तीकरणका लागि परियोजनाले काम गर्दै आएको बताइएको छ ।