प्रहरीले बरामद गरेको लागूऔषध र लागूऔषध तस्करीको अभियोगमा पक्राउ परेका भारतीय नागरिकलाई सार्वजनिक गर्दै ।

हेटौँडाः लागूऔषध गाँजासहित हेटौँडा–३, तीनताप्केबाट एक भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–३, तीनताप्केमा सवारी साधन रोकी सुरक्षाजाँच गर्ने क्रममा मनहरीबाट बीरगन्जतर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको योद्धा पिकअप गाडीबाट प्रहरीले १ सय ११ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

प्रहरीले लागूऔषध गाँजासहित गाडी चालक भारतको बिहार राज्यको मोतिहारी जिल्लाका ३० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । बालुवा र मलले छोपेर लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध गाँजा, गाँजा तस्करीमा प्रयोग भएको पिकअप गाडी र चालक महोमद समीरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जानकारी गराएको छ ।