हेटौँडाः सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, ईनारपानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ का २५ वर्षीय नारायण श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बेलुका ७ बजेर ५० मिनेटको समयमा मदन भण्डारी राजमार्गमा भिमानबाट चन्दनपुरतर्फ जाँदै गरेको ना ४७ प ६४४ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई साईडको पिल्लरमा ठोक्किएर दुर्घटना हुँदा श्रेष्ठ घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।