सज्जन रिमाल त्रिभुवन मावि, हेटौंडा–११, नवलपुर

बिहानको ६ः०० बजेको थियो । ढोकामा ढक–ढक ढक–ढक कसैले ढक्ढक्याएको । आवाज आयो, खाटबाट बिस्तारै उठेर आँखा मिच्दै ढोका खोलि । एक्कासी खै मेरो निन्द्रा कता उड्यो, निन्द्राको मात्रै के कुरा गर्नु, मेरो होसको पनि ठेगान भएन । मेरो मुखबाट एक्कासी आवाज निस्कियो “साहुजी आज त पक्का दिन्छु साहुजी ।” साहुजी रिसले चुर हुँदै मलाई पून खाटसम्मै पुग्ने गरी धकेलेर कराए “आज पनि भएन भने ठिक हुने छैन ।”

साहुजीले कराएर मलाई धकेलेको र म खाटमा लडेको सानी छोरीले हेरिरहेकी रहिछिन् । उनी बोलिन्, “बाबा त्यो अंकलले हजुरलाई किन कराउनुभएको अनि किन धकेल्नु भएको, हजुरले त्यो पसले अंकलको उधारो तिर्न नसक्नुभएर हो बाबा ? त्यो अंकललाई भनिदिनुस् न म ठूली भएपछि कमाएर तिर्छु भनेर ।” अनायास मेरा आँखाहरु रसाएर आए र मैले छोरीलाई ढाँट्दै भने, “हैन छोरी त्यो अंकलको म सँग सानैदेखि जिस्किने बानी छ, जिस्किएको मात्र हो ।” छोरीले पून प्रश्न गरिन्, “हिजो दिउँसो घरबेटी बाले हाम्रो कोठाको सामान बाटोमा फ्यालेर पनि जिस्किएका हुन् त बाबा ?” छोरीको यो प्रश्नले म स्तब्ध भए ।
हतार हतार कपडा लगाएर निस्कनै लागेको थिएँ छोरीको आमा बोलेको आवाज आयो, “चिया त पिएर जानुस् ।” भन्नू उनको कर्तव्य भनेर पूरा गरिन् तर एकहप्तादेखि मैले आफ्नो कर्तव्य पूरा गर्नसकेको थिइँन यानिकि चियापत्ति र चिनी सकिएको कुरा मलाई राम्ररी थाहा थियो त्यसैले मैले हतार छ भनेर टार्न खोजी । तर उनी फेरि बोलिन्, “हिजो मास्लो घरे जेठिदिदिलाई तेल मालिस गरिदिएकी थिएँ अलिकती चिनी र चियापत्ती दिनुभएको छ के, हजुर बस्तै गर्नुस् म चिया बनाएर लेराउँछु ।” आँसु पिइरहेको मेरा ओठहरुले चिया पिउने हिम्मत गर्न सकेनन्, म केही नबोली आफूले काम गर्ने फ्याक्ट्रीको मालिकको महलतिर लागेँ ।
मालिक बरण्डामा बसेर चियाको चुस्की लगाउँदै रहेछन् । मैले दुईहात जोडी बिन्ती बिसाउँदै भनेँ, “मालिक आज मेरो तन्खा आउँछ भन्नुभएको हैन ?” मालिकलाई के थाहा आज पनि तन्खा नआए मेरी सानी छोरीले समेत भोको पेट र सडकको बास बस्नुपर्ने कुरा । उताबाट मालिकको जवाफ आयो, “अहिले के बेला हो तँलाई राम्ररी थाहा छ, यो बेलामा म के आफ्नो घरबारी बेचेर तँलाई तन्खा दिउँ ?” यति भनेर मालिक भित्र पस्दै ढोका लगाउँछन् ।

मालिक भित्र पस्नासाथ मेरो मनमा अनेक तर्कनाहरू आउन थाले अब के गर्ने कसो गर्ने ? यत्तिकै जाउँ घरमा चामलको गेडो पनि छैन, उधारो लिउँ बिहानै खाइसकेको पसल साहुको हप्कीले अहिलेसम्म पेट भरिराखेकै छ, घरबेटिको भाडा नतिरे बेलुकाको बासको ठेगान छैन ।
म सरकारले बाँडेको राहत लिन नगएको पनि हैन । तर जब मेरो पालो आयो यो त जागिरे हो, तलबमा काम गर्छ उफ्फ न राहत पाइयो न तलब ।
के गर्ने कसो गर्ने मैले सोँच्नै सकिन यत्तिकैमा मेरो दिमागमा एउटा कुराको सम्झना आयो, अरु बेलामा नदिए पनि मेरो बा मर्दाको बखत सबै छिमेकी र वरपरका गाउँलेहरुले दिएको विचार (चामल) ले हामीले महिना दिनको छाक टारेका थियौं ।
र म खिस्स हाँसे अब बाले जस्तै मैले पनि मेरी सानी छोरी र श्रीमतिको लागि महिनादिनको चामलको व्यवस्था मिलाउन सक्ने भएँ ।
कसैलाई यस्तो बाध्यतामा नपारियोस् ।
अकालमा नमारियोस् ।