हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा चेतनामूलक नाटक प्रतियोगिता हुने भएको छ । शुक्रबार वडाध्यक्ष नवीन सिग्देलले पत्रकार सम्मेलनमार्फत् फागुन १८ गतेदेखि २३ गतेसम्म आयोजना गर्न लागेको नाटक प्रतियोगिता बारेमा जानकारी गराउनुभएको छ ।
हेटौंडा–१० स्थित झलझली मल्टिक्रियसन स्टुडियोको व्यवस्थापनमा सामाजिक रूपान्तरणका लागि चेतनामूलक नाटक मञ्चन प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष सिग्देलले बताउनुभयो । विद्यालयमा दैनिक नाटक प्रस्तुत गर्ने समूहले आधा घण्टाको नाटक प्रस्तुत गर्नुपर्ने उहाँले बताउनुभयो । भौतिक विकाससँगै मानवीय चेतनाको विकास, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा नाटक प्रतियोगिता हुने उहाँको भनाइ छ । नाटक प्रतियोगितामा वडाका ६ वटा सामुदायिक विद्यालय, ५ वटा निजी विद्यालय र बाल सञ्जालको सहभागिता रहनेछ ।
समाजमा रहेका विकृति, विसंगति, कुरीति, अन्धविश्वास, लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम गर्न लागेको ४ नम्बर वडाको शैक्षिक गुणस्तर सुधार समिति अध्यक्ष श्रीराम दहालले बताउनुभएको छ । विभिन्न दुव्र्यसनी विरूद्धको सचेतनामूलक नाटकको प्रस्तुति रहने अध्यक्ष दहालले बताउनुभयो । फरक–फरक विद्यालयका विद्यार्थीले फरक फरक विद्यालयमा पुगेर नाटक मञ्चन गर्नेछन् । नाटक प्रतियोगिताना प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।