महफिल–२ सार्वजनिक गर्दै युवा गजलकारहरु ।

हेटौँडा : मकवानपुरका युवा गजलकार केशव समर्पणसहित १० जना युवा गजलकारका गजल समावेश गरी महफिल–२ शनिबार सार्वजनिक भएको छ । शुक्रबार र शनिबार दुई दिन काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको पहिलो काठमाडौं उत्सवको अवसरमा युवा गजलकारले नै महफिल–२ विमोचन गरेका छन् ।

गजल मञ्च मकवानपुरका अध्यक्ष समेत रहनुभएका केशव समर्पणसहित १० जना युवा गजलकारका २०/२० गजल महफिलमा समावेश गरिएको छ । बाबु त्रिपाठीले सम्पादन गर्नुभएको महफिल–२ मा केशव समर्पणले १० वर्षअघिदेखि हालसालै लेखिएका २० गजल समावेश गरिएको छ । देशका फरक भुगोलमा रहेर गजल लेखिरहेका युवा गजलकारको संयुक्त कृतिको रुपमा महफिल–२ तयार भएको हो । यसअघि महफिल–१ मा पनि १० युवा गजलकारका २ सय गजल समावेश गरिएको थियो ।

महफिल–२ मा केशव समर्पणसँगै एनबी अन्जान, बबिता भुजेल, माया निर्भिक, बिमला दहाल, गीता स्मृति कठायत, मुना बोहरा, खगेन्द्र अटल, लक्ष्मण संगम र दिलकुमारी बुढामगरको गजल समावेश गरिएको छ । महफिल–२ मा गजल समावेश गर्ने १० युवा गजलकारमध्ये ३/४ जना गजलकार मात्रै आफूले चिन्ने र अरुसँग परिचय समेत नभएको गजलकार केशव समर्पणले जानकारी दिनुभयो ।

गोधुली कला साहित्य प्रतिष्ठानले आयोजना गरेको काठमाडौं उत्सवमा विमोचन गरिएको महफिल–२ मा केशव समर्पणले समसामयिक राजनीतिक विसंगति, विकृतिविरुद्ध व्यङ्ग्य गरिएका गजलदेखि सामाजिक अवस्थालाई चित्रण गर्ने र प्रेमका विषयमा लेखिएका गजल समावेश गरिएको जानकारी दिनुभयो । महफिल–२ मा गजल समावेश गरेका युवा गजलकारले गजल वाचन समेत गरेका थिए