बाढीले कुलेखानी ड्यामभन्दा तल रहेको पुलमा पुर्याएको क्षतिको अवलोकन गर्नुहुँदै सरकारका प्रमुख सचेतक महेशकुमार बर्तौला ।

हेटौँडाः असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाले मकवानपुर जिल्लामा एक अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण पालिकासँग संकलन गरेर अनुमानित क्षतिको विवरण तयार पारेको प्रशासकीय अधिकृत सरोज पौडेलले जानकारी दिनुभएको छ ।

बाढी पहिरोमा परी मृत्यु भएका १५ जनाका परिवारले राहतस्वरुप जनही २ लाख रुपैयाँ प्रशासन कार्यालयबाट बुझेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार बाढी, पहिरोका घटनामा परी मृत्यु भएका मकवानपुरवासी र मकवानपुरमा शव बरामद भएका व्यक्तिका परिवारका लागि सरकारले जनही दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलले बाढी, पहिरोमा परी आवासीय घरमा पूर्ण क्षति भएका २२ परिवारले १५ हजार रुपैयाँका दरले राहत रकम बुझेका छन् । विपद् लगत्तै असोज १५ गतेबाट जिल्ला प्रशासन कार्यालयले राहत रकम वितरण गर्न सुरु गरेको थियो ।

बाढी पहिरोमा परी मकवानपुर जिल्लामा १२० वटा घर पूर्णरुपमा क्षति भएको, १८३ वटा घरमा आंशिक क्षति पुगेको तथ्यांक संकलन गरिएको छ । जिल्लाभित्रका राजमार्गका ५१ ठाउँमा क्षति पुगेको, पक्की तथा झोलुङ्गे पुल १६ वटामा क्षति पुगेको विवरण संकलन गरिएको अधिकृत पौडेलले जानकारी दिनुभयो । यस्तै २३ हजार ७९ रोपनी क्षेत्रफलको खाद्यान्नबालीमा क्षति पुगेको छ भने ४ हजार १ सय ३६ वटा पशुचौपाया मरेका छन् ।

बाढी, पहिरोले सबैभन्दा बढी ईन्द्रसरोवर गाउँपालिकामा क्षति पुगेको छ । ईन्द्रसरोवर गाउँपालिकामा ४०, बागमती गाउँपालिकामा १८, भीमफेदी गाउँपालिकामा १४, थाहा नगरपालिकामा १३, कैलाश र मनहरी गाउँपालिकामा ११/११, बकैया गाउँपालिकामा १० वटा, मकवानपुरगढी गाउँपालिकामा ५, हेटौँडा उपमहानगरपालिकामा ४ र राक्सिराङ गाउँपालिकामा ३ वटा घर पूर्णरुपमा क्षति पुगेको छ ।

यस्तै बकैया गाउँपालिकामा ५२, थाहा नगरपालिकामा ५१, ईन्द्रसरोवर गाउँपालिकामा २३, बागमती गाउँपालिकामा २२, मकवानपुरगढी गाउँपालिकामा १३, भीमफेदी गाउँपालिका १२, राक्सिराङ गाउँपालिकामा ६ र हेटौँडा उपमहानगरपालिकाका ४ घरमा आंशिक क्षति पुगेको विवरण तयार भएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले संकलन गरेको तथ्यांक संघीय सरकारलाई पठाउने र सरकारले उपलब्ध गराउने राहतका कार्यक्रम पीडित तथा प्रभावित क्षेत्रलाई वितरण गरिने उहाँको भनाइ छ ।

बाढी, पहिरोले पूर्वाधारको क्षेत्रमा पु¥याएको क्षतिका कारण मकवानपुर जिल्लाको प्रभावित क्षेत्रको जनजीवन अझै सहज हुन सकेको छैन । हेटौँडा–काठमाडौं छोटो मार्गमा पुगेको क्षतिका कारण यातायात सेवा प्रभावित बनेको छ । छोटो मार्गअन्तर्गत भीमफेदी कुलेखानी, फर्पिङ खण्ड र कान्तिलोकपथ सुचारु भए पनि जोखिमपूर्ण छ ।