हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–९, टिकौली जंगलमा ३ वटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ८ ख ८६७४ नम्बरको ट्याङकर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

ट्याङ्करको पछाडि ना ६ ख ४६२४ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ का २६ वर्षीय अनिश स्याङ्तान, सह–चालक हेटौँडा–२ का २३ वर्षीय आशिष स्याङ्तान र ना ८ ख ८६७४ नम्बरको ट्याङकर चालक हेटौँडा–१९ नेवारपानीका ३६ वर्षीय सुदिप तामाङ घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा ट्रक चालक अनिश स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अर्का ट्रक चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ का ३७ वर्षीय दिपक रोक्कालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी लगिएको प्रहरीले जानकारी दिएको छ ।