बागमती पुलको पहुँचमार्ग निर्माणपछि सवारी साधनको आवागमन सुचारु हुँदै । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–काठमाडौं कान्तिलोकपथ सुचारु भएको छ । मंगलबार बिहान ८ बजेबाट कान्तिलोकपथ सुचारु भएको हो । मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलाको पुलसँगको पहुँचमार्ग असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढीले बगाएपछि कान्तिलोकपथ अवरुद्ध बनेको थियो ।

पुलसँगको पहुँचमार्गमा ठूलो क्षति पुगेको १० औं दिनमा कान्तिलोकपथ सुचारु भएको हो । पुलसँगको पहुँचमार्ग निर्माण सुरु गरेको चौथो दिन बिहान सवारीसाधन आवागमन सहज भएको हो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार द्रूतमार्गमा खटिएको नेपाली सेना, कान्तिलोकपथ आयोजना र डिभिजन सडक आयोजनाको प्राविधिक तथा स्रोत साधनको सहयोगमा बागमती पुलको पहुँचमार्ग निर्माण गर्न सफल भएको हो ।

बागमती पुलको पहुँचमार्ग निर्माण भएसँगै साना सवारी साधनको आवागमन सुरु भएको छ । पुलको पहुँचमार्ग र मकवानपुरतर्फ कुनै समस्या भए तत्काल मर्मत गर्न मेसिन र अपरेटर तयारी अवस्थामा रहेको अध्यक्ष लामाले बताउनुभएको छ । बागमती पुलको पहुँचमार्ग निर्माणको चरणमा संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले पनि अवलोकन गरी निर्माणमा तिव्रता दिन सरोकारवालालाई ध्यानाकर्षण गराउनुभएको थियो ।