हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाबाट एक करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बागमती गाउँपालिकाबाट १ करोड रुपैयाँ बराबरको खसीबोका खरिद गरेको हो ।

गाउँपालिका र कम्पनीबीच भएको सम्झौताअनुरुप गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका करिब ४ सय ८८ वटा खसीबोका बिक्री भएको गाउँपालिकाका पशुपन्क्षी विकास शाखाका प्रमुख डा. विमोचन पौडेलले जानकारी दिनुभयो । असोज १८ तथा २० गते गाउँपालिकाका विभिन्न स्थानबाट खसीबोका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरी काठमाडौं पठाएको थियो ।

करिब १ करोड रुपैयाँको खसीबोका बिक्री भएको उहाँको भनाइ छ । उहाँका अनुसार कृषकहरुले बिक्री स्थलमै खसीबोकाको रकम पाएका छन् । जिउँदो खसी २० देखि २५ केजीसम्मलाई प्रतिकेजी ५ सय ८५ रुपैयाँ, २५ केजीभन्दा माथिलाई प्रतिकेजी ६ सय ५ रुपैयाँ मूल्य तोकिएको थियो । यस्तै, १८ केजीभन्दा माथिका बोकालाई प्रतिकेजी ५ सय ७० रुपैयाँ खरिद मूल्य तोकिएको थियो ।

गाउँपालिकाका पशुपन्क्षी शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार यसअघि लगातार दुई वर्ष कम्पनीले बागमतीबाट खसीबोका खरिद गरेको थियो । बागमतीमा सुरुको वर्षमा १ सय ५ वटा र दोस्रो वर्ष ३ सय ५० वटा खसीबोका खरिद गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्र खसीबोकाको बढ्दो उत्पादनसँगै किसानहरुलाई बिक्री वितरणमा समस्या हुने भएपछि उक्त कम्पनीसँग सम्झौता गरी एकमुष्ट खसीबोका खरिद गर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । यसले गर्दा बिचौलीयाहरु हावी नहुने र किसानहरुले उचित मूल्य पाउने उहाँको भनाइ छ । उहाँले किसानहरुलाई थप प्रोत्साहन गर्न पालिकाले काम गर्ने बताउनुभयो ।
गाउँपालिकाका तर्फबाट अध्यक्ष घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र कम्पनीको वीरगञ्ज शाखाका प्रमुख पंकजकुमार झा र वरिष्ठ सहायक समीर दाहालले खसीबोका खरिद बिक्रीको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।