मनसुन सक्रिय भई शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण राजधानी काठमाडौं जलमग्न भयो । बागमती र कोशी प्रदेशमा बाढी, पहिरो, डुबान तथा कटानका कारण व्यापक जनधनको क्षति भयो । असोज १० गते बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोमा परेर मृत्यु हुनेको संख्या आइतबार साँझसम्म १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ५२ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता छन् । काठमाडौंको नागढुंगा नजिकै धादिङ जिल्लाको झ्याप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोका कारण कोशी प्रदेशमा करिब डेढ दर्जन मानिसको मृत्यु भएको छ । मकवानपुरको सिस्नेरीमा बत्सलादेवी माविको एन्फा एकेडेमीमा प्रशिक्षण लिइरहेका ६ जना किशोर खेलाडीको पहिरोमा परेर मृत्यु भएको छ । बाढी, पहिरो प्रभावित र पीडितको संख्या हजारौं छ ।
अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो खोला, नदी किनारका बस्ती तहसनहस भएका छन् । उपत्यकाका धेरै क्षेत्रका घरहरु डुबानमा परेका छन् । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुरलगायत जिल्ला बाढी, पहिरोबाट बढी प्रभावित भएका छन् । बाढी तथा पहिरोकै कारण काठमाडौं उपत्यका जोड्ने सबै सडक सञ्जाल अवरुद्ध भएको छ । धेरै क्षेत्रका सडकहरु खोला तथा नदीले कटान गरेको छ भने दर्जनौं पुलहरु बगाएको छ । पहिरोले जताततै सडक अवरुद्ध भएको छ । बाढी, पहिरोले जलविद्युत् उत्पादन केन्द्रहरुमा पनि ठूलो क्षति पुगेको छ । यो अवधिमा १४ जिल्लाका २५ वटा वर्षा मापन केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । ती केन्द्रहरुमा २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको हो । अविरल वर्षाका कारण सुनकोशी, तामाकोशी, दूधकोशी, नारायणी, बागमतीजस्ता ठूला नदी र यस क्षेत्रका सबैजसो खोलाको जलसतह निकै बढेको थियो । सप्तकोशी नदीमा अहिलेसम्मकै बढी पानीको बहाव भएपछि कोशी बाँधका ५६ वटै ढोका खोल्दा पनि पानी पुलमाथिबाट बगेको थियो ।
यस पटकको वर्षाको पूर्वअनुमान पहिले नै सार्वजनिक गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म देशभर अति भारीदेखि आरीघोप्टे पानी पर्ने बताएको थियो । ५६ जिल्लालाई रेड जोन अर्थात् अति जोखिम क्षेत्रमा राखेर उच्च सतर्कता अपनाउन भनिएको थियो । यो सूचना तीनै तहका सरकार, सुरक्षा संयन्त्रदेखि विपद् व्यवस्थापन हेर्ने निकायले पाएका थिए । अधिकांश सर्वसाधारणले पनि सूचना पाएका थिए । तर, सरकारी निकायदेखि सर्वसाधारणसमेतले यो पूर्वानुमानको सूचनालाई खासै महत्व दिएको पाइएन । सरकारले पुरानै कामचलाउ शैलीमा विपद्को तयारी ग¥यो । सर्वसाधारणले पनि बेवास्ता गरेको देखियो । शुक्रबार बिहानदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निरन्तर भारी वर्षा भएपछि सुरक्षा संयन्त्र सक्रिय भए पनि शनिबार बिहानसम्म सबैतिर क्षति भइसकेका कारण विपद् व्यवस्थापन सम्भव भएन ।
मुलुकमा हरेक वर्ष वर्षात्को समयमा सक्रिय हुने मनसुनका कारण बाढी, पहिरो, डुबान तथा कटानबाट धनजनको ठूलो क्षति हुने गरेको छ । सरकारसँग यस्ता विपद् व्यवस्थापनका लागि प्रभावकारी नीति तथा योजना नहुँदा वर्षेनि विपद्बाट हुने क्षति बढ्दै गएको छ । प्रकृतिलाई मानिसले आफू अनुकूल प्रयोग गर्न खोज्दा प्रकोपको अवस्था सिर्जना हुने गरेको छ । काठमाडौं उपत्यकालगायत धेरैजसो क्षेत्रमा भएको क्षतिको मुख्य कारण खोला तथा नदी क्षेत्र अतिक्रमणलाई मानिएको छ । अव्यवस्थित र अवैज्ञानिक मानवीय संरचना क्षतिको अर्को मुख्य कारण हो । यस्तै, पूर्वसूचना हुँदाहुँदै पनि आवश्यक तयारी गर्न नसक्ने सरकारको लाचारीपन र बेवास्ता गर्ने आम नागरिकका कारण पनि क्षति बढी भएको हो । प्राकृतिक घटनालाई मानिसले रोक्न नसके पनि यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । भारी वर्षा हुने जानकारी हुँदाहुँदै सतर्कता र सावधानी नअपनाउँदा र विपद्को आवश्यक तयारी नगर्दा अकल्पनीय क्षति हुन पुग्यो । अब विपद्बाट पीडित र प्रभावितका लागि उचित राहत र व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छ ।