हेटौंडाः अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरु बंगलादेश प्रस्थान गरेका छन् । आइतबार बागमती प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीहरुको बिदाइ गरेको हो । बंगलादेशको राजधानी ढाकामा अक्टोवर १ तारिखदेखि ४ तारिखसम्म हुन लागेको प्रथम साउथ एसियन स्कूल कम्ब्याक्ट–२०२४ (तेक्वान्दो प्रतियोगिता)मा सहभागी हुने खेलाडीको बिदाइ गरिएको हो ।
मकवानपुरको हेटौंडा–१७ स्थित क्रियटिभ तेक्वान्दो डोजाङबाट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागी हुनका लागि आदित्य पराजुली, इच्छा विष्ट, दीपन सापकोटा र आदित्या ढकालसहित टिमकोचको रुपमा क्रियटिभ तेक्वान्दो डोजाङका सञ्चालक भोजराज पराजुली बंगलादेश प्रस्थान गरेका छन् । पराजुलीले केरोगी विधामा ४५ केजी तौल समूहबाट र पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन् भने विष्टले पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, सापकोटाले केरोगी विधामै ४५ केजी तौल समूहमा र ढकालले केरोगीको ४२ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्नेछन् ।
करिब ३ महिनाअघि जुलाई १० तारिखदेखि १६ तारिखसम्म हुने भनिएको अन्तर्राष्ट्रिय प्रतियोगिता बंगलादेशमा भएको आन्तरिक राजनीतिक आन्दोलनको कारण स्थगित भएको खेलाडी आदित्य पराजुलीले जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको आयोजना र बंगलादेश स्कूल स्पोर्टस् फेडरेसनको सह–आयोजनामा साउथ एसियन स्कूल फेडरेसन र बंगलादेश किरारा सिखा प्रतिष्ठानको सहकार्यमा प्रतियोगिता हुन लागेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका सबै देशका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा १५ वर्षदेखि १८ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
खेलाडीहरुले ३ चरणको विभिन्न खेलमा सहभागी भएर बंगलादेशको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको उहाँले बताउनुभयो । हेटौंडा–१६, हटियामा गतवर्ष भएको पहिलो संस्करणको राष्ट्रिय खुला तेक्वान्दो, काठमाडौंमा भएको चन्द्रागिरी तेक्वान्दो प्रतियोगिता र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुँदै बंगलादेशको अन्तर्राष्ट्रिय तेक्वान्दोमा छनोट हुन सफल भएको उहाँले बताउनुभएको हो । प्रतियोगिताको मिति सरेको कारण अझ बढी प्रशिक्षण लिन पाएकाले सहज भएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरु करिब १ वर्ष पहिलादेखि नै प्रशिक्षण लिँदै आइरहेको उहाँले बताउनुभयो । क्रियटिभ तेक्वान्दो डोजाङका सञ्चालक भोजराज पराजुलीले बिहान र बेलुकी २÷२ घण्टाको प्रशिक्षण दिने गरेको बताउनुभयो । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट केन्द्रीयस्तरसम्मको प्रतियोगितामा सहभागी गराएको उहाँले बताउनुभयो ।
खेलाडी पराजुली विगत ७ वर्षदेखि क्रियटिभ डोजाङबाट तेक्वान्दो खेलमा आवद्ध रहेका छन् भने सापकोटा विगत ४ वर्षदेखि तेक्वान्दो खेलमा आवद्ध छन् । प्रतियोगितामा मकवानपुरसहित अन्य विभिन्न प्रदेशका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।
छिमेकी मुलुक भारत, बंगलादेश, श्रीलंका र नेपालको सहभागिता रहेको तेस्रो र चौथो चरणको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सफल भएका पराजुली र विष्टले स्वर्ण पदक जितेको थिए । यस्तै, ढकालले रजत पदक र सापकोटाले कास्य पदक प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । पराजुली गत वर्षको तेक्वान्दोतर्फ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा समेत सहभागी भएको उहाँले बताउनुभयो । प्रदेशस्तरीय प्रतियोगिता पुम्से विधाबाट प्रतिस्पर्धा गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ बजेट छुट्याएको पराजुलीले बताउनुभयो ।
आफ्नो डोजाङका खेलाडीहरुलाई यस्तो प्रकारको प्रतियोगितामा सहभागी गराउन पाउँदा प्रशिक्षक पराजुलीले खुशी व्यक्त गर्नुभएको छ । टिमकोचको रुपमा आफूले खेलाडीहरुलाई सहज वातावरण सिर्जना गर्ने उहाँले बताउनुभयो । डोजाङले विगत ११ वर्षदेखि तेक्वान्दो प्रशिक्षण दिँदै आएको छ ।
नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने क्रममा सरकारले सहयोग नगरेको र आफैँले खर्च व्यहोर्नुपरेको प्रशिक्षक पराजुलीको भनाइ छ । खेलाडीहरुका लागि सरकारले केही गरेमा सजिलैसँग विभिन्न प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले स्वर्ण, रजत र कास्यपदक प्राप्त गर्नेछन् ।