प्रत्येक क्षण प्राकृतिक विपत्ति हुन सक्छ । नेपालमा वर्षात्मा पहिरो र बाढीले सयौं नागरिकको ज्यान जाने गर्दछ भने हिउँद लागेपछि शितलहरले गरिबहरुको मृत्यु हुने गर्दछ । प्रत्येक वर्ष यस्ता आपत आउँछन् भन्ने नागरिकदेखि राज्यका सबै निकायलाई कण्ठ छ । तर यस्ता विपत्ति न्यूनीकरण गर्नेदेखि प्रतिकार्यका लागि कुनै तयारी नै हुने गरेको पाइँदैन । त्यसैले धनसम्पत्तिको नोक्सानी मात्र हैन कि नागरिकको ज्यान नै जाने गरेको छ । यसपटक पनि मनसुन सुरु भएको छोटो अवधिमै उल्लेख्नीय संख्यामा मानिसको ज्यान गइसकेको छ । ५० औं जना नागरिक वेपत्ता भएका छन् । तर रोकथाम र उद्दारको कुनै पूर्वतयारी पूर्ण भएको छैन ।
विकासका नाममा विनास बढाउने काम मानिस स्वयम्ले गरेको अवस्था छ । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि गाउँ–गाउँमा सडक विस्तारका नाममा विनास निम्त्याउने काम भएको आरोप लाग्दै आएको छ । प्रत्येक जनप्रतिनिधिहरु ठेक्दार र ईन्जिनियर बन्दै अवैज्ञानिक रुपमा डाँडापाखामा सडक विस्तार हुने गरेका छन् । जसले गर्दा कमजोर भएको जमिनमा पानी पसेपछि भेलबाढी आउनु स्वभाविक नै हो । यसको पूर्व अनुमान स्थानीयहरुलाई पनि हुन्छ । तर आफ्नो सुरक्षामा उनीहरु समेत लापर्वाह देखिँदै आएका छन् । आफ्नै घरआँगनबाट सडक लग्दा हुने प्राकृतिक जोखिमका विषयमा सचेत हुने हो भने भेलबाढी र जनधनको नोक्सानी रोक्न सहयोग पुग्ने छ ।
वर्षा, बाढी र पहिरोका कारण अर्बौंको धनमाल क्षति हुँदै आएको छ । प्राकृतिक विपत्ति जुनसुकै समयमा आउन सक्छ । त्यसैले पूर्वतयारी गर्नु पर्दछ । सबैभन्दा विपत्तिबाट जोगिने उपायको खोजी हुनु आवश्यक छ । जोखिमयुक्त स्थानका वस्तीहरुलाई स्थानान्तरण गरिनु पर्दछ । नागरिकको ईच्छा वा अनिच्छा भन्दा पनि राज्यको नीति आवश्यक हुन्छ । कानून बनाएर त्यसको पूर्ण कार्यान्वयन गर्नु आवश्यक छ । अद्येताहरुले जोखिमका क्षेत्रहरु किटान गरिसकेका छन् । तर पनि त्यस्ता ठाउँहरुमा वस्ती यथावत छ । नागरिक आफैं वस्ती छोड्न सक्ने अवस्थामा हुँदैनन् । उनीहरुलाई उचित क्षतिपूर्ति दिएर जोखिममुक्त गराउने काम राज्यको हो । तर यस प्रकारको कुनै तयारी हुन सकेको छैन । त्यसैले प्रत्येक वर्ष पहिरोमा परेर ठूलो संख्यामा नेपालीहरुको ज्यान गईरहेको छ ।
प्रत्येक वर्ष बाढी आउने पक्का नै छ । त्यसबाट हुने जनधनको क्षति पूर्वानुमान गरी उद्दार र राहतका लागि राज्य र सामाजिक संस्थाहरुले पूर्व तयारी गर्नै पर्दछ । तर मौसमविद्हरुले होशियार रहन भन्दा समेत तयारी भएको हुँदैन । उद्दार गर्नुपर्ने समयमा पूर्व तयारीको काम हुने गरेको छ । जसले गर्दा जनधनको क्षति प्रत्येक वर्ष बढ्ने गरेको छ । नदीतटीय क्षेत्रका वस्तीहरुलाई समयमै सचेत गराउने, सुरक्षित स्थानमा पु¥याउनेदेखि उद्दार र राहतको तयारी हुन आवश्यक छ । जोखिमयुक्त जिल्लाहरु पहिचान गरी त्यस्ता स्थानहरुमा उद्दारका लागि सवै तयारी गरिनु पर्दछ । सकेसम्म क्षति हुन नदिने र भएमा उद्दार र राहत चुस्त हुनु पर्छ । यस कार्यमा संघीयदेखि प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिका निर्वाह गर्न जरुरी देखिन्छ