हेटौँडाः सिन्धुलीको मरिणमा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो १ः४९ बजेको समयमा परेको चट्याङका कारण एक पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चट्याङका कारण मरिण गाउँपालिका–७, बाह्रबीसेका चन्द्रबहादुर माझीको मृत्यु भएको हो । घरभन्दा एक किलोमिटर दक्षिण तर्फको चौरमा गोठालो गएको अवस्थामा ६५ वर्षका माझी चट्याङका कारण घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङका कारण घाइते भएका माझीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा २ः२५ बजेको समयमा मृत्यु भएको हो ।
गत सोमबार पनि सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिकामा चट्याङका कारण एक महिलाको मृत्यु भएको थियो । हरिहरपुरगढी गाउँपालिका–३, माडीस्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१, शिखरकी ४० वर्षीया छलिमाया थिङको मृत्यु भएको थियो ।