प्रगतिशील लेखनमा ख्याती कमाउनुभएका मकवानपुरका साहित्यकार श्यामप्रसाद शर्मा अहिले हामी माझ हुनुहुन्न । तर, उहाँका सुन्दर कृतिहरु अध्ययन गरेर आजका पुस्ताले पनि श्यामप्रसाद शर्मालाई जान्न, बुझ्न र सिक्न सक्ने अवसर छ । मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा जन्मनुभएका श्यामप्रसाद शर्माको योगदानको सम्मान गर्दै उहाँको स्मरण चिरस्थायी बनाउन पनि उहाँलाई नजिकैबाट बुझ्नु भएका मकवानपुरका अग्रज पत्रकार कौशल पाण्डेको अध्यक्षतामा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान समेत गठन भएको छ । प्रतिष्ठान र श्यामप्रसाद शर्माका विषयमा समृद्ध समाजकी सीएम रिमालले श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेसँग गर्नुभएको कुराकानीः
समाजः श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । श्याम प्रसाद शर्मा चिनाउन पर्यो भने कसरी चिनाउन हुन्छ ?
पाण्डेः श्यामप्रसाद शर्मा मकवानपुरको बकैया गाउँपालिकाकोे विकट ठाउँमा एउटा साधारण परिवार जन्मिएको मान्छे हो । श्यामप्रसाद शर्मा यस्तो मान्छे हो, जो व्यक्तित्वको हिसाबले उच्च तहको व्यक्ति तर आफ्नो वर्गीय हिसाबबाट श्रमिक वर्ग कै अडानमा रहेर त्यही व्यवहारमा रहेर आफ्नो लेखनबाट राष्ट्रियस्तरको जन्म भयो । नेपालको प्रगतिशील साहित्यतिर हृदयचन्द्र सिंह प्रधान, गोपालप्रसाद रिमाल आदिपछि नेपालको प्रगतिशील साहित्यको विकासमा श्यामजीको विशेष योगदान रहेको छ ।
श्यामजीले नेपालको बामपन्थी आन्दोलनको मार्गमा सुरुङ हाल्ने काम गरेको छ । वैचारिक रुपले त्यसमा विशेष योगदान दिएर राष्ट्रको एउटा सम्मानित व्यक्तिको रुपमा स्थापित भएको हुनाले नेपाली जनताले सम्झनै पर्ने नाम हो । मकवानपुर मै जन्मनु भएको हुनाले र उहाँको योगदान चाहीँ राष्ट्रिय रुपमा सबैले सम्झनु पर्ने हुनाले उहाँलाई बेला बेलामा हामी सम्झी रहन यो प्रतिष्ठान स्थापना गरेका हौं । उहाँको कृतिहरु प्रकाशित गर्ने, हेटौंडा–१८ को गुम्बाडाँडामा स्मृति पार्क पनि बनिरहेको छ । त्यहाँ उहाँको प्रतिमा पनि स्थापित गर्ने हाम्रो योजना छ । निकट भविष्यमा सम्पन्न होला ।
समाजः प्रतिष्ठान स्थापना भएलगत्तै श्यामप्रसाद शर्माको सालिकसहितको पार्क निर्माण गर्ने काम भइरहेको छ । पार्क निर्माणको काम कति पूरा भयो ?
पाण्डेः प्रतिष्ठानका लागि अहिले जति जग्गा उपलब्ध भयो त्यहाँ पर्खाल घेर्ने काम भयोे । त्यसपछि श्यामप्रसाद शर्माको एउटा प्रतिमा स्थापना गर्न त्यहाँ एउटा स्थान निर्माण भयो । अहिले श्यामप्रसाद शर्माका विचारहरु लेख्ने, घेर्ने आदि एउटा बगैंचा जस्तो सेट निर्माण गर्ने काम भईरहेको छ ।
समाजः प्रतिष्ठान स्थापना गरेर नेपाली साहित्यलाई कसरी टेवा पुग्छ होला ?
पाण्डेः मलाई लाग्छ साचिँकै भन्नु हुन्छ भने श्याम जीको रचनाहरु हामीले व्यापक रुपमा प्रचार गर्यौं भने नयाँ पुस्ताले पनि श्याम जी बारे श्याम जीका कृति, विचार, सिद्धान्त मान्यता बुझ्न पाउँछन् । त्यो नै एउटा राम्रो काम हुन्छ जस्तो मलाई लागेको छ । यही काम चाहीँ यो प्रतिष्ठान गर्न सक्छ भने हामीलाई लागेको छ र ५ वटा कृति हामीले प्रकाशन गरिसकेका छौं ।