
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच उद्यम तथा व्यवसायको प्रवर्धन गर्ने कम्पनिको रुपमा सञ्चालित द एड मेकर्सलाई कुल १० लाख रुपैयाँ बीउ पुँजी मध्ये दोस्रो किस्ता वापत ४ लाख रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको हो ।
म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक वाणिज्य संकायमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि ज्ञवालीलाई म्यानेजमेन्टले बीउ पुँजी हस्तान्तरण गरेको थियो । एक वर्षअघि एक लाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको म्यानेजमेन्टले २ महिनापछि थप ४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नेछ ।
विश्वविद्यालय अनुदान आयोग (युजीसी) मार्फत प्राप्त बीउ पुँजी विद्यार्थीलाई हस्तान्तरण गरिएको प्रिन्सीपल पुरनबहादुर जोशीले जानकारी दिनुभएको छ । विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्न म्यानेजमेन्टले ओपन इनोभेसन हव नै स्थापना गरेर सञ्चालन गरिरहेको छ । पहिलो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ ज्ञवालीले फिर्ता गरिसकेको छन् ।
उद्यम तथा व्यवसायको विज्ञापन निर्माणको काम गर्ने द एड मेकरले १ सय भन्दा बढी सेवाग्राहीलाई सेवा गरिसकेको र अहिले पनि २० वटा नियमित सेवाग्राही रहेको ज्ञवाली बताउनुहुन्छ । ज्ञवालीले अब प्राप्त हुने रकम लगानी गर्ने क्षेत्रका बारेमा पनि बताउनुभएको छ । हालसम्म १२ लाख ७६ हजार रुपैयाँ लगानी भइसकेको कम्पनिका लागि प्राप्त बीउ पुँजीले व्यवसाय विस्तार गर्न, कम्पनिको कार्यालय व्यवस्थापनमा पनि सहयोग पुग्ने ज्ञवालीको भनाइ छ ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्टको रणनीति तथा नवप्रवर्तन विभागका प्रमुख दिपेश खनालले सक्षम जस्तै अरु पनि विद्यार्थीहरु व्यवसाय, उद्यममा क्रियाशील रहेको जानकारी दिनुभयो । म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले महत्वाकांक्षी परियोजनाको रुपमा विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा जोडी बीउ पुँजी दिने काम गरिएको बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगले निजी शैक्षिक संस्थामार्फत बीउ पुँजी दिने व्यवस्था नहुँदा पनि आफूहरुले माग गरेर विद्यार्थीलाई वितरणको व्यवस्था मिलाएको बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीलाई बीउ पुँजी वितरण गर्न म्यानेजमेन्टलाई पहिलो किस्तावापत १७ लाख १० हजार रुपैयाँ दिएको छ ।