हेटौंडाः मकवापुर जिल्लामा कार्यरत १ सय ८१ जना करार शिक्षक विस्थापित हुुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले आइतबार मकवानपुर जिल्लामा २ सय ७ जना प्राथमिक तहको स्थायी शिक्षकलाई नियुक्तिपत्र दिएसँगै जिल्लाका सामुदयिक विद्यालयमा कार्यरत १ सय ८१ जना करार शिक्षक विस्थपित हुने भएका हुन् ।

इकाईले स्थायी नियुक्ति पाएका शिक्षकलाई विभिन्न पालिकामा सिफारिस गरेको छ । पालिकाले ती शिक्षकलाई रिक्त दरबन्दी भएको विद्यालयमा पठाएपछि करारमा कार्यरत शिक्षक स्वतः हट्नेछन् । कतिपय पालिकामा सिफारिस भएका भन्दा बढी रिक्त दरबन्दी भएकाले २६ जना करारमा कार्यरत शिक्षकहरु भने विस्थापित हुने छैनन् ।

मनहरी गाउँपालिकामा १० जना स्थायी शिक्षक नियुक्ति भएका छन् । पालिकामा कार्यरत ६ शिक्षक अवकास भएकाले ४ जनामात्र करार शिक्षक विस्थापित हुने स्रोतले जनाएको छ । हेटौंडा उपमहानगरपानिकामा ८ जना शिक्षक नियुक्ति भएसँगै ८ जना करार शिक्षक विस्थापित हुने भएका छन् ।

मकवानपुरगढी गाउँपालिकामा ७ जना शिक्षक नियुक्ति भए पनि ३ जना करार शिक्षक विस्थापित हुने भएका छन् । यस्तै, बागमती गाउँपालिकामा १० जना शिक्षक नियुक्ति भएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कामको सिलसिलामा बाहिर जानुभएकाले उहाँ आएपछि शिक्षकलाई विद्यालय छनोट गराइने स्रोतले बताएको छ । बागमतीमा कति शिक्षक विस्थापित हुन्छन् भन्ने यकिन तथ्याङ्क नआएको स्रोतले जानकारी दिएको छ ।

बकैया गाउँपालिकामा ३३ जना शिक्षक नियुक्ति भएका छन् । राक्सिराङ गाउँपालिकामा ३२ जना शिक्षक नियुक्ति भएसँगै २७ जना करार शिक्षक विस्थापित हुने भएका छन् । थाहा नगरपालिकामा ३९ जना शिक्षक नियुक्ति भएपछि ३८ जना करार शिक्षक विस्थापित हुनेछन् । इन्द्रसरोवर गाउँपालिकामा ११ जना शिक्षक नियुक्ति भएका छन् । त्यहाँ ११ जना नै करार शिक्षक विस्थापित हुने बताइएको छ । यस्तै, भीमफेदी गाउँपालिकामा २० जना शिक्षक नियुक्ति भएसँगै २० जना करार शिक्षक विस्थापित हुने भएका छन् ।