वाइसीएल मकवानपुरको आयोजनामा विरोध प्रदर्शनमा उत्रिएकाहरु ।

हेटौँडा : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा हेटौँडामा प्रदर्शन भएको छ । योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरले प्रदर्शन गरेको हो ।

मंगलबार साँझ वाइसिएलका युवा तथा कुलमान समर्थकहरुले टुकी बत्ती सहितको जुलुस निकालेर सरकारको विरोध गरेका हुन् । विरोधसँगै उनीहरुले सरकार विरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए । पुत्ला दहन रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच भएको घम्साघम्सीमा प्रहरी निरीक्षक बिमला कठायत घाइते भएकी छिन् । सो क्रममा ख्वपःगल्लीमा रहेको तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

सिमाचोकबाट टुकी बत्ती बाल्दै बुद्धचोक, उद्योग वाणिज्य संघ चोक, कान्तिराजपथ, खोप्पे गल्ली हुँदै सिमाचोक पुगेर कोणसभामा परिणत भएको थियो । जनविरोधी सरकार मुर्दावाद, नलायक उर्जामन्त्री राजिनामा दे, गणतन्त्र जिन्दावाद, दलहरू होसियार, कुलमानको निर्णय फिर्ता गर, विद्युुत माफियाको चलखेल बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले सोमबार कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ ।