हेटौंडाः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल पनि आक्रान्त अवस्था छ । लकडाउनको कारणले व्यवसाय क्षेत्र गम्भिर रुपमा प्रभावित भएको अवस्थामा बैंक तथा बित्तीय संस्थाले व्याज तथा किस्ता तिर्न दिएको दबावको बिरुद्धमा मकवानपुरका व्यवसायीले शुक्रबार हेटौंडामा प्रदर्शन गरेका छन् ।
व्यवसायीहरुले हेटौडाको बुद्धचोकमा लकडाउनलाई शुन्य कायम गर, सहज भएपछि आफैं तिर्न आउछौं, फोन चिठ्ठीपत्रको कष्ठ नगरौं, व्यवसायीले आत्महत्या गर्ने दिन नआओस्, लकडाउन शुन्य समय हो बैंक व्याज माग्न पाइँदैन, सर्वोच्चको सुनवाई सम्मान गरौं लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । व्यवसायीहरुले बैंकलाई लकडाउन अवधिको व्याज पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, किस्ता बुझाउने म्यादको समय थप गरिनुपर्ने, कायम गरिएको व्याजमा ५ प्रतिशत छुट हुनुपर्ने, १ वर्षसम्म व्याज बुझाउने म्याद थप गरिनुपर्ने जस्ता विषयहरुमा ध्यानाकर्षण गराउँदै पुर्ण कार्यान्वयनको लागि अपिल गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा भएको आन्दोलनसँगै मकवानपुरका व्यवसायीले बैंकर्स एसोसिएसनको केन्द्रीय समिति र नेपाल राष्ट्र बैंकका गभर्नरलाई पनि भेटेर आफ्ना समस्या राख्ने जनाएको छ । प्रदर्शनपछि संघको सचिवालयमा भएको पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक कृष्ण कटुवालले बैंकहरुले विश्वव्यापी महाविपद्का बेला समेत मानवता प्रस्तुत गर्न नसकेको भन्दै व्यवसायीका समस्यालाई लिएर बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेट्ने बताउनुभयो ।
उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष स्वागत राज प्याकुरेलले बैंक नाफामुखी मात्रै भएको आरोप लगाउनुभयो । संसार संकटमा भएका बेला बैंकले नाफा आर्जनमा मात्रै ध्यान दिएको उहाँको भनाइ छ । बैंकलाई नाफा दिने व्यवसायी नै संकटमा भएका बेला बैंकले सहयोग नगर्नु आपत्तिजनक भएको प्याकुरेलले स्पष्ट पार्नुभयो । प्रदर्शनमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, प्याव्सन, एनप्याव्सन, निर्माण व्यवसायी संघलगायत विभिन्न क्षेत्रका व्यवसायीको सहभागिता रहेको थियो ।