हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित पोखराका निर्मल ढुंगेल र सर्लाहीका राजेश तामाङलाई पक्राउ गरेको छ । सोमबार बिहान ९ बजेर २० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा लागूऔषध नाईट्राभेट ५६९ ट्याबलेटसहित निर्मल र राजेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पथलैयातर्फबाट हेटौँडातर्फ आउँदै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकल चालक सर्लाही जिल्लाको हरिपुर ननगरपालिका–२ का २६ वर्षीय राजेश तामाङ र मोटरसाइकलमा पछाडि कास्की जिल्लाको पोखरा महानगरपालिका–१९ का २० वर्षीय निर्मल ढुंगेललाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।