हेटौंडाः २०७ औं भानु जयन्तीको अवसरमा भानुभक्त विशेष कार्यक्रम हुने भएको छ । असार २९ गते नवोदय साहित्यिक बगैंचा बाल क्लवको आयोजनामा भर्चुअलबाट कार्यक्रम हुन लागेको हो । हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले भानु जयन्तीको अवसरमा हरेक वर्ष विविध कार्यक्रम गर्दै आइरहेको छ । गत वर्ष विद्यालयमा गठन भएको क्लवले यस वर्ष भानुभक्त विशेष कार्यक्रम गर्न लागेको हो ।
‘क्लव गठन भएपछि पहिलोपटक भानु जयन्तीको अवसरमा कार्यक्रम गर्न लागेका छौं’, क्लवकी अध्यक्ष इलिशा पराजुलीले भन्नुभयो, ‘क्लवले जुम एपबाट रचना वाचन कार्यक्रम गरिसकेको छ । पहिलो पटक आयोजना गर्न लागेको विशेष कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछु ।’ कार्यक्रममा मुख्य आकर्षणहरुमा विद्यार्थीले बनाएका आदिकवी भानुभक्त बारेमा वृत्तचित्र, यसै जिल्लामा अवस्थित ६ वटा विद्यालयका छ जना विद्यार्थीहरुको प्यानल डिस्कसन, बहस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधि १० रचना वाचन पनि रहेको उहाँले जानकारी दिनुभयो ।
बहसमा प्रा. डा. द्वय हेमचन्द्र नेपाल र रामप्रसाद ज्ञवाली तथा युग पाठक वक्ता रहनुभएको छ भने राम अविकासले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ । गत वर्ष नवोदय विद्यालयले भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुनका लागि नवोदयको पेजमा फारमको लिङक राखिएको छ त्यसैमा फारम भरेर सहभागी हुन सकिन्छ ।