हेटौंडाबासीले करिब चार दशकदेखि देखेको व्यवस्थित रंगशालाको सपना साकार हुँदै गएको छ । चार दशक अघि चर्चा सुरु भएको हेटौंडा–६ स्थित गौरीटार रंगशाला निर्माणले गति लिएको हो । रंगशालामा खेल पूर्वाधार निर्माणको काम धमाधम हुन थालेपछि रंगशाला निर्माणको आशा बढेको छ । विसं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरिएको गौरीटार रंगशाला निर्माणको काम चार दशकसम्म पूरा हुन सकेको छैन । त्यतिबेलै सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरिएको भए पनि लामो समयसम्म रंगशाला निर्माण कार्य सुरु हुनै सकेन । विसं २०६६ जेठ २८ गते केन्द्रीय खेलकुद प्रतिष्ठानको नाममा गौरीटार रंगशाला निर्माणको औपचारिक शिलान्यास भएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले झण्डै ५ अर्ब खर्च गरेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रतिष्ठानको शिलान्यास गरेको भए पनि डेढ दशकपछि रंगशालाले पूर्णता पाउने सम्भावना देखिएको छ ।

गौरीटार रंगशाला (केन्द्रीय खेलकुद प्रतिष्ठान) निर्माणमा संघीय सरकारले आवश्यक बजेट विनियोजन र पर्याप्त ध्यान नदिएपछि अहिले बागमती प्रदेश सरकारले खेल पूर्वाधार निर्माण अघि बढाएको छ । रंगशालामा पछिल्लो समय फुटबल, क्रिकेट र पौडी खेलका पूर्वाधार निर्माण भइरहेको छ । प्रदेश गौरवको योजनाअन्तर्गत राखेर बागमती प्रदेश सरकारले २०७५ सालबाट रंगशालामा खेल पूर्वाधार निर्माण गरिरहेको छ । अहिले एक प्यारापिटसहितको फुटबल मैदान निर्माण भइसकेको छ । प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी र क्रिकेट मैदान निर्माण गरिरहेको छ । २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरी प्रदेश खेलकुद विकास परिषद्मार्फत् दुबै संरचना निर्माणको भइरहेको छ । ८ करोड ६३ लाख रुपैयाँको लागत अनुमानको पौडी पोखरी निर्माणका लागि ६ करोड २ लाख रुपैयाँमा गत चैत ३० गते ठेक्का सम्झौता भएको छ । यस्तै, ११ करोड ७४ लाख रुपैयाँ लागत अनुमान रहेको क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४३ लाख रुपैयाँमा गत चैत २० मा ठेक्का सम्झौता भएको छ ।

६ सय दर्शक क्षमताको एउटा प्यारापिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड, स्कोर बोर्ड, भिभीआईपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी÷रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ । प्रदेश सरकारले ७५ करोड रुपैयाँ लागत अनुमानसहित डिपीआर तयार गरेर रंगशालाको खेल पूर्वाधार निर्माण गरिरहेको छ । १९ वटा विधाका खेल संरचना निर्माण गरेर केन्द्रीय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने संघीय सरकारको योजना बजेट अभावले निरन्तरता पाउन नसके पनि प्रदेश सरकारको अग्रसरताले रंगशाला निर्माण साकार बन्ने भएको छ । प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले रंगशालाको अनुगमन गर्दै निर्धारित समयभित्रै निर्माण कार्य सक्न निर्देशन दिएका कारण रंगशालाको सपना साकार हुने आशा बढाएको हो ।

प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालनकै समयदेखि रंगशालाको सपना देखे पनि कुनै काम नहुँदा हेटौंडाबासी निरास बनेका थिए । गौरीटार रंगशालालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालन गर्ने र खेलाडीहरुका लागि बन्द प्रशिक्षणसमेत गराउने भन्दै केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण शिलान्यासको करिब एक दशकसम्म पनि रंगशालाको जमिनमा पर्खाल लगाउने कामबाहेक उल्लेख्य खेल पूर्वाधार नबनेपछि हेटौंडाबासीमा फेरि निरासा देखिएको थियो । २०७४ मा प्रदेश सरकार गठन भएपछि बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणमा चासो देखाएसँगै रंगशालाले सार्थकता पाउने आशा बढाएको थियो । पछिल्लो समय रंगशालामा खेल संरचना निर्माणको काम धमाधम अघि बढेपछि हेटौंडामा सुविधासम्पन्न र व्यवस्थित रंगशालाको सपना साकार हुने भएको छ ।