कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न २०७६ साल चैत ११ गतेदेखि नेपाल सरकारले आव्हान गरेको लकडाउनका कारण जनजीवन प्रभावित बन्यो । व्यापार व्यवसाय ठप्प रह्यो । अहिले लकडाउन केही खुकुलो भएको छ । लकडाउन खुकुलो भए पनि व्यापार, व्यवसाय सहज हुने स्थिति बनिसकेको छैन । तर, व्यवसायीलाई मुख्यतः बैंक तथा वित्तीय संस्थाबाट ऋणको साँवा, व्याजको किस्ता बुझाउन ताकेता भइरहँदा व्यवसायीहरु आतंकित छन् । व्यवसायीको समस्यालाई लिएर मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार मकवानपुरका रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच छलफल समेत आयोजना गरेको थियो । यसै सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः करिव ३ महिना लकडाउनले उद्योग व्यवसाय ठप्प रह्यो । अहिले पनि लकडाउन खुकुलो मात्रै भएको छ । यो लकडाउनमा व्यवसायीको अवस्था कस्तो छ ?
कटुवालः असार १ गतेबाट पसलहरु खोल्नलाई केहि सहज भएको कारणले गर्दा हाल बाहिरी आँखाले बजार खुलेको देखिन्छ । तर सार्वजनिक यातायातहरु चलेको छैन । कतिपय मान्छेलाई सामान किन्न र हेर्न जाने अवस्था छैन । उद्योगीहरुलाई त्यस्तै समस्या छ । उत्पादन भए पनि सामान बजारमा जान सकेको छैन । बैंकहरुमा केहि बैंकहरुले फोन गरेर किस्ताको ताकेता गर्ने, व्याज बढाउने लगायतका समस्याहरु हामीलाई आएका छन् । उहाँहरुलाई हामीले भनिसकेका छौं । कतिपय बैंकहरुले सहजता गर्ने कुरा पनि भएको छ ।
समाजः अहिले व्यवसायीको प्रमुख समस्या के हो ?
कटुवालः अहिलेको हाम्रो प्रमुख समस्या भनेको बैंकसँगको कुरा हो । बैंकबाट किस्ताको लागि ताकेताको कुरा लगायत समस्या छन् । होटलहरु, सिनेमा हलहरु र इस्टिच्युटहरु लगायत हामीसँग भएका विभिन्न व्यवसायहरु ३ महिनादेखि बन्द छ र कहिले खुल्ने थाहा छैन । यस्तो अवस्थामा बैंकले किस्ता, व्याज र कर तिर्न ताकेता गर्दा कताबाट ल्याएर तिर्ने यो नै मुख्य समस्या हो । यातायातको त्यस्तै समस्या छ । घरवालाले भाडा मागिरहेको छ, व्यवसाय भने ठप्प छ । यि विषयहरुमा हामीलाई अप्ठ्यारो छ ।
समाजः यस्ता विषयहरु जिल्ला तहमा उद्योग वाणिज्य संघले मात्रै समाधान गर्न सक्दैन । नेपाल उद्योग वाणिज्य महासंघले भने केन्द्रमा त्यत्ति सक्रियता देखाएको देखिँदैन नि ?
कटुवालः नेपाल उद्योग वाणिज्य महासंघमा हामीले सबै कुरा राखेका छौं । यो अवस्था यस्तै भयो भने हामी बाध्य भएर आन्दोलन गर्नु पर्छ भन्ने जस्ता कुरा राखेका छौं । महासंघको चुनाव नजिक छ । चुनावको प्रक्रियाले गर्दा पनि केहि मान्छेलाई बोल्न गाह्रो भएको होला । महासंघकै मान्छे पनि बैंकवालाहरु छन् । त्यसले पनि प्रभाव पारेको छ र थोरै सुस्तता पनि हो ।
समाजः कोरानो संक्रमणकै समयमा खाद्यान्नको मूल्य वृद्धि भएको छ भन्ने उपभोक्ताको गुनासो छ । यसमा उद्योग वाणिज्य संघले केहि पहल गरेको छैन ?
कटुवालः पछिल्लो समय कुखुरा व्यवसायीको कुरा धेरै आयो । त्यसमा पनि हामीले निश्चित मुल्य कायम गरौं भनेको हो । यसरी भन्ने मात्रै हो हामीले अनुगमन गर्ने अधिकार छैन । कुनै पनि व्यवसायीले बढी मूल्य लियो भने त्यसो नगर्नका लागि हामीले सचेत गराउने काम मात्रै हामी गर्न सक्छौं । अनुगमन गरेर कार्वाही गर्ने अधिकार नभएकोले हामीले अनुगमन गर्न सकेनौं ।
समाजः लकडाउन सहज भएको छ तर व्यवसायीहरुले सतर्कता अपनाएको देखिँदैन । यसलाई के भन्नुहुन्छ ?
कटुवालः मैले बारम्बार भनेको छु, बजारमै गएर पनि सामाजिक सञ्जालमा र सुचना पनि जारी गरेको छु । यसमा व्यवसायी मात्रै नभएर उपभोक्ता पनि र हरेक मानिस सचेत हुन जरुरी छ । कसरी सतर्कता अपनाउने भन्ने कुरा सबैलाई थाहा भैसक्यो । यति हुँदा हुँदै पनि कतिपय व्यवसायीहरुले लापरवाही गरिरहेका छन् । सामाजिक दुरी कायम नगरेको, मास्क, सेनिटाइजर लगायतका कुराहरु प्रयोग नगरेको पाइएको छ । उहाँहरुलाई त्यस्तो लापरवाही नगर्न आग्रह गर्दछु । र सम्पुर्ण नागरिकलाई पनि रोगसँग हेलचेक्र्याई नगर्न अपिल गर्दछु ।