हेटौंडाः लकडाउनका कारण मारमा परेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र व्याज रकम दाखिला गर्न दिइरहेको दवावको विरुद्ध मकवानपुरका उद्योगी, व्यवसायीले भोलि शुक्रबार हेटौंडामा प्रदर्शन गर्ने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघमा राजनीतिक दलका प्रतिनिधि समेतको उपस्थितिमा आज बसेको व्यवसायीको बैठकले भोलि दिनको ३ बजे बुद्धचोकमा प्रदर्शन गर्ने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।
संकटका बेला बैंक तथा वित्तीय संस्थाले दिइरहेको दवावको विरुद्ध मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा उद्योग संघ मकवानपुरका स्वागतराज प्याकुरेल, होटल व्यवसायी संघ मकवानपुरका शंकरलाल श्रेष्ठ, निर्माण व्यवसायी संघका सागर भट्टराई, प्याव्सन मकवानपुरका विनोद सुुवेदी, एनप्याव्सन मकवानपुरका नारायण राजथला, पुरानो नारायणी यातायात व्यवसायी कम्पनिका सरोज खनाल, नारायणी यातायात कम्पनि प्रालिका माधव अधिकारी, सार्वजनिक यातायातका ज्ञानेन्द्र कार्की सम्मिलित संघर्ष समिति समेत गठन गरिएको छ ।
व्यवसायीले प्ले कार्डसहित प्रदर्शन गरेर उद्योगी, व्यवसायीको तर्फबाट संयुक्त वक्तव्य समेत जारी गरिने बताइएको छ । आज भएको छलफलमा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी, नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली र राप्रपाका जिल्ला अध्यक्ष मधु अधिकारीको उपस्थिति रहेको थियो ।