राप्ती नदी क्षेत्रमा सरसफाई गरिँदै ।

हेटौंडाः क्रियसन नेपाल संस्थाको आयोजनामा हेटौंडामा सरसफाइ गरिएको छ । मंगलबार हेटौंडा–१० स्थित राप्ती नदीमा विश्व बैंकको सहकार्यमा क्रियशन नेपालले सरसफाइ गरेको हो ।

१० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य तथा भीएफसी युथ हेटौंडाकी भोलेन्टिएर प्रतीक्षा पौडेलको सभाध्यक्षतामा सरसफाइ कार्यक्रम भएको हो । विश्व बैंकको सहकार्यमा नदीहरुमा प्लाष्टिकजन्य फोहोरलाई न्यूनीकरण गर्न ७ वटा पालिकाको नदीमा सरसफाइ गर्नका लागि कार्यक्रम गरेको संस्थाकी तालिम तथा क्षमता अभिवृद्धि अधिकृत पलिस्थन मानन्धरले जानकारी दिनुभएको छ । संस्थाले सिन्धुली जिल्लाको खुर्कोट र गोलन्जोर गाउँपालिका, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका र मकवानपुरको हेटौंडाको राप्ती नदीको सरसफाइ गरेको अधिकृत मानन्धरले बताउनुभयो ।

आज बुधबार चितवन जिल्लाको भरतपुर महानगरपालिका, बुधबार धादिङ जिल्लाको गजुरी गाउँपालिका र चितवन जिल्लाकै इच्छाकामना गाउँपालिकाका नदीहरु सफाइ गरिने बताइएको छ । यस्तै, असार २४ र २५ गते ललितपुर महानगरपालिकाका नदीहरुको सरसफाइ गरिने उहाँले बताउनुभयो ।

संस्थाले सन् २०२४ को फेब्रुअरीबाट कार्यक्रम सुरु गरेकोमा अहिलेसम्म खुर्कोटबाट गोलन्जोर, सुनकोशी, बर्दिवास भावसीखोलाको सरसफाइ गरिसकेको उहाँले बताउनुभयो । नदीको पर्यावरण सफा राख्ने उद्देश्यले समुदायका युवाहरु, ज्येष्ठ नागरिक, प्रहरी, सिमान्तकृत र टोल विकास संस्थाका पदाधिकारीहरु गरी करिब ६० जनाले राप्ती नदीको वरपर सरसफाइ गरेको उहाँको भनाइ छ । संस्थामा आवद्ध भएका ७ जना पदाधिकारीहरुले सरसफाइ गरेका थिए । वनविज्ञान क्याम्पस तथा भीएफसी युथकी भोलेन्टिएर प्रतीक्षा पौडेल र अभिषेक चन्दको नेतृत्वमा युथ समूहका १० पदाधिकारीहरु पनि सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।

करिब २५ वर्ष पहिला नदीको पानी अत्याधिक सफा हुने गरेको अहिले नदीमा जथाभावी फोहोर फैलाउने काम गरेका कारणले नदीमा नकारात्म परिस्थिति सिर्जना भएकाले सरसफाइ गरेको बताइएको छ । संस्थाले विशेष वातावरणीय सरसफाइअन्तर्गत नदीलाई सफा राख्ने उद्देश्य लिएको छ ।

यस वर्षबाट सुरु गरेको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । सरसफाइबाट संकलन भएको फोहरलाई पुनः प्रयोगमा आउने र नआउने छुट्याएर डम्पिङ साइटमा व्यवस्थापन गरिएको छ । सरसफाइबाट प्लाष्टिक ४६ किलोग्राम, बोटल ५ किलोग्राम, एमएलपी १६ किलोग्राम, कुहिने फोहोर १० किलोग्राम र लो ग्रेज फोहोर ६ किलोग्राम गरी करिब ३ सय ४३ किलो फोहोर संकलन भएको थियो ।
संस्थाले काम गरिरहेको सबै पालिकाहरुको डम्पिङ साइट खोलामा हुने बताउनुहुँदै अधिकृत मानन्धरले भन्नुभयो– ‘डम्पिङ साइटमा फोहोर फालेको कारण नदीमै फोहोर मिसिएर जान्छ । त्यसैले हामी सबैले नदी सफा गर्दा एउटा व्यवस्थित ठाउँको निर्माण गर्न आवश्यक छ ।’ सबै पालिकाहरुले फोहोर व्यवस्थापन गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो ।

नदीको सरसफाइ गर्नुभन्दा पहिला सुरक्षित उपकरणको प्रयोग गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई नदी सरसफाइमा संलग्न गराउन नहुने र सडकमा गाडीहरु चल्ने भएकाले सजगता अपनाउन आवश्यक रहेको बताइएको छ । शारीरिकरुपमा अशक्त भएकाहरुलाई सरसफाइ कार्यक्रममा सहभागी नगराउन आग्रह गरिएको छ । प्लाष्टिकजन्य फोहोरमुक्त नदी भन्ने नाराका साथ सरसफाइ कार्यक्रम गरिएको हो ।